९ मंसिर २०८१, आईतवार
समाचार समाज साहित्य/ समाचार

ग‍ोरहा

तराईको धनखेताबाट भदौ र असोजमा गाम्हरा दुधही धानको वास्ना आहा ! कस्तो मिठो । सुघिरहुँ लाग्ने । माटोको पनि अलग्गै खालको मिठो बास्ना आउने । चैत वैशाखको रापिलो घाममा सुकेका क‍ोला र आलीको घाँसबाट अतरभन्दा पनि मीठो बास्ना आउने ।

हरियालीले सजिएको मेरो गाउँ, आज पनि ताजा, सुन्दर, भरिभराउ र परिपूर्ण छ । गाउँमा घरपालुवा जनावर गाई, गोरू र भैँसीको गोबर र माटोले घर, आँगन र चुलो नपोते भान्सामा चुलो बल्दैन्थ्यो।

भान्सामामा चुलो बाल्न खर, गोरहा (गुइँठा), गोरहैनी, चिपरी, जरना, राहाठ, खर  र सन्ठी उतिकै आवश्यक पर्थ्यो । चुलो बाल्न सलाई वा लाइटर सकिएको बेला डाँडु लिएर छिमेकीको घरबाट आगो ल्याएएकी छु धेरै पल्ट ।

छिमेकीले भर्खर चुलो बालेर आगो नपलाएको वेला सन्ठीमा आगोको तुती (झिल्को) लिएर दौडिँदै आफ्नो भान्सा घर पुगेर चुलो बालेकी छु धेरैपल्ट।   छोरी मान्छे पाक कलामा निपूण हुनैपर्छ भन्ने धारणा प्रत्येक आमाको हुन्छ ।

पाककलामा निपूण हुँदैमा पनि आमा सन्तुष्ट नहुने रहेछ । घर बाहेक खेतबारीको काममा पनि निपूण हुनैपर्ने । छुटाउनै नहुने  निपूणता अध्ययन पनि हो । मैले यी सबै कलामा निपूण हुनैपर्छ भनेर बाले पढाउन र आमाले खेतबारीको काम सिकाउन कहिले झन्झट मान्नु भएन । जानीनजानी गोरहा (गुइँठा) बनाउनु पनि एक सीप नै थियो ।

गोबरको गन्ध मलाई कहिल्‍यै घिन लागेन । गाई/गोरु वा भैंसी चराउने बेला होस् या भकारो सोहोर्नेबेला होस् कहिल्यै घिन लागेन । गोबरसँगको सम्बन्ध सम्झिँदा आज पनि रमाइलो लाग्छ । उत्सुकता जाग्छ । के कैला गोरु बाँचेकै छ कि मरिसक्यो ?  मेरो घरमा एक हल गोरु, गाईहरू र एउटा भैंसी थियो । जसको गोरु जवान, हट्टाकट्ठा हुन्थे, त्यो मान्छे धनी किसानमा गनिन्थ्यो त्यतिखेर ।

भर्खरको गोरूलाई बच्छाबरद (बाच्छो) भनिन्छ । बच्छाबरद  किन्न अहिले पनि जोडीको ३०/४० हजार रूपैयाँ पर्छ । हाम्रो पनि बच्छा बरद नै थियो । तर एउटा सेतो र अर्को खैरो  रङको थियो । सेतो गोरूलाई उजरा र खैरोलाई कैला बरद भनेर नाम राखेका थियौँ । कैला बरद दुई वर्षपछि अचानक कमजोर हुन पुग्यो । हलो जोत्नेबेला बसिदिन्थ्यो । बुबाले  कैला बरद (कालो गोरू)  बेच्नुभयो । त्यो कैला  बरद कस्तो अवस्थामा छ होला ?

भैँसीको स्याहार गर्ने नोकर नपाएर बाले भैंसी पनि बेच्नुभयो । भैंसी कहाँ, कस्तो अवस्थामा छ ? मरिसक्यो वा शहरमा म:म: बनेर मान्छेको आहार बनिसक्यो कि ? थाहा छैन । उनीहरूलाई सम्झेर दुःखी छु  ।

उनीहरूको गोबरले आमाले कयौँ गोरहा (गुइँठा), गोरहैनी, चिपरी बनाउनुहुन्थ्यो । उनीहरूकै गोबरको गोरहाबाट हाम्रो भान्सामा भात पाक्थ्यो ।

गर्मी महिनामा गाहली (गुहाली)मा बरद (गोरु), भैंसी भुँइमै बस्थे । उफ ! तराईको गर्मी, मच्छरले मान्छेलाई टोक्न छोड्दैनथ्यो भने गाई/ गोरूलाई झन के छोड्थ्यो । मच्छर  धेरै लाग्‍ने । पुच्छरले मच्छर हम्किरहन्थे गाई, भैंसी र गोरूहरू। बुबाले धुँवा हुनेगरी घुर बाल्नुहुन्थ्यो गाहलीमा गाई, भैँसीकै अगाडि । घुरक‍ो धुँवामा गाई, गोरु र भैंसी पाज गर्दै आनन्दले निदाउथे ।

गर्मी महिना छितनी (ढाकी)मा गोबर सोहोरेर बारीमा राख्नुहुन्थ्यो आमाले। जाडो महिनामा गोबर सोहोर्न धरै सकस हुन्थ्यो । लार, पुवार (पराल)को सथरी बिछ्याइन्थ्यो । सथरीमै गाई, भैँसी गोब्रयाउथे । लार, पुवारलाई हटाउँदै  गोबर सोहर्न समय लाग्थ्यो । हाथ पनि ठिर्‍याउँथे ।

जाडो महिना प्राय: वर्षा नहुने भएकाले । घर छेउको आ-आफ्ना खेतको कुनामा थारू महिलाहरू गोबर राख्थे । बिहानै घरको काम सकाएर गोरहा (गुइँठा) बनाउन स्वास्नी मान्छेहरू बारीमा पस्थे ।

म ठूली भएपछि आमालाई  म गोरहा बनाउन सिक्नुपर्छ भन्ने खड्किन थाल्यो । गोरहा पाथ्ने(बनाउने)बेला मलाई पनि बोलाउनुहुन्थ्यो । आफू पाथ्दै (बनाउँदै)गर्दा मलाई पनि एउटा कुनामा पाथ्न लगाउनुहुन्थ्यो । म पनि आमाले जसरी गोरहा पाथ्न सिक्न थालेँ ।

आलीमा लहरै ७ वटा गोरहा बनाएर एक ठाउँमा लडाउथे । फेरि त्यसैगरी केही ठाउँ खाली छोडेर ७ वटा अर्को  ठाउँमा लहरै लडाउथेँ । लडाएको ७ वटा सुकिसकेपछि भोलिपल्ट फेरि त्यसकैमाथि अर्कोतिरबाट गोरहा पाथेर (बनाएर) लडाउदथेँ ।

दैनिक त्यसरी गोरहा बनाउँदा तीन/चार महिनामा खलियो (चाङ) बन्थ्यो । त्यसलाई गोरहाको छोहा (छायाँ) भनिन्छ । जसको बढी गोबर हुन्थ्यो उसको गोरहाको छोहा (छायाँ) अग्लो हुन्थ्यो । सबैले गोबर अनुसार १०/१२देखि २०/२५ ओटा छोहा बनाएका हुन्थे ।

म ठूली भएपछि आमालाई  म गोरहा बनाउन सिक्नुपर्छ भन्ने खड्किन थाल्यो । गोरहा पाथ्ने(बनाउने)बेला मलाई पनि बोलाउनुहुन्थ्यो । आफू पाथ्दै (बनाउँदै)गर्दा मलाई पनि एउटा कुनामा पाथ्न लगाउनुहुन्थ्यो । म पनि आमाले जसरी गोरहा पाथ्न सिक्न थालेँ ।

सुरूमा अगाडि चामलको भुस वा धानको खखरी गोरहा पाथ्ने ठाउँमा छरेँ । आलीको नापको बाँसको बती (बासको भाटा)  छेउमा राखेँ । त्यही नापको गोरहा बनाउनु थियो । आलीभन्दा सानो ठुलो हुनु हुँदैनथ्यो । बती गोरहा लडाउने आलीको नापमा आमाले काट्नु भएको थियो । छेउमा डोल(बाल्टिन)मा पानी राख्नुभएको थियो ।

गोबरमा पानी छर्किएँ । पानी र गोबरको डल्ला दुबै हातले मोल्दै बतीको लम्बाइ अनुसार डल्ला लामो बनाएँ । मुक्काले थुमथुमाउँदै गोबरको लामो डल्लाको  बीचमा खाल्डो बनाएँ । खाल्डोमा सन्ठी (जुटबाट निक्कलिएको भाग) हालेँ । सन्ठी हालेर त्यही गोबरको डल्लाले खाल्डो पुरेँ । औँलाहरूले थुमथुमाउँदै दुबैतिर ठोकेर टाउको बनाएँ । आमाले बनाएको हेर्दै बनाइरहेकी थिएँ । आमाले बनाउनुभए जतिको मैले बनाएको गोरहा राम्रो देखिएन । मैले बनाएको गोरहा देखेर आमाले गोरहाको नाम दिनुभय‍ो नेरगोरहा ।

मैले बनाएको गोरहा देखेर आमा मुसुमुसस हाँस्नुभो । हाँसेको देखेर मैले आमालाई सोधेँ, ‘कथिले हासैचिहि ? (किन हास्नु भएको नि ?)

आमाले भन्नुभयो : तोहे नेरगोरहा बनाइलहि । (तिमीले राम्रो आकारको गुइँठा बनाएनौं)

मैले फेरि आमालाई सोधे, ‘गोरहा नैबनलै हमर ? (गोरहा राम्रो बनेन र मेरो ?)

‘मुरी निकसे ठोकने ताब गोरहा बनतौ।(टाउँको राम्रोसँग मिलाउन अनि राम्रो गोरहा बन्छ।)  भन्दै आमाले मैले बनाएको गोरहाको टाउको राम्ररी सम्याइदिनुभ‍यो ।  टाउको राम्रो नभएको गोरहा नेरगोरहा हो भनेर आमाले मलाई सम्झाउनुभो । मैले बनाएको नेरगोरहा छोहामा राखेँ । आमाको भन्दा नराम्रो देखियो तर खुसी भएँ ।

त्यतिबेला म प्रत्येक दिन बिहान उठेर  क्याम्पस पढ्न जान्थेँ ।  क्याम्पसबाट फर्केपछि खाना खाएर गोरहन बनाउन बारी पस्थेँ । कात्तिक, मङ्सिर महिनाको चिसो मधुरो, मीठो घाममा गोरहा बनाउँदै घाम ताप्नुको मज्जा नै बेग्लै हुन्थ्यो । नेरगोरहा बनाउँदा बनाउँदा गोरहा बनाउन सिकिसकेकी थिएँ ।

पुस, माघको शीतलहरमा आमालाई रूघा र ज्वरोले  च्याप्थ्य‍ो । हावा  चिसो चल्थ्यो । बिरामी परेर आमाले गोरहन बनाउन सक्नुहुन्थिएन ।   शीतलहरमा गोरहा बनाउने जन(श्रमिक) पाउदैन्थ्यो  । म प्रत्येक दिन गोरहा बनाउन जान्थेँ ।

पुस, माघको जाडोमा गोबर छोएर हात ठिर्‍याउँथ्यो। गोबर छोएर हातको छाला फुट्थ्यो । बारीमा आलु रोपिसकेपछि कात्तिक महिनाबाट गोरहा बनाउन सुरू गर्थे र वैशाख महिनामा घर भित्रयाउथे । गोरहा राख्ने घरलाई गोरहाघर वा जरनघरा भनिन्छ ।

कात्तिकदेखि चैत महिनाको गोबर गोरहा बनाएर सकाउथे भने। वैशाख र जेठ महिनाको गोबरको  गोरहैनी बनाउथे थारू टोलका स्वास्नी मान्छेहरू। गोरहैनी (गोबारबाट बनेको गुइँठा) गाहली वा खलियानको एउटा कुनामा बनाएर गाहली र घर, आँगनका टाँटीमा अडेस लगाएर सुक्न दिन्थे ।

गोरहा बनाउन जान्नले गोरहैनी सजिलै बनाउन सक्थे । गोरहाभन्दा गोरहैनी बनाउन सजिलो छ । गोरहैनी बनाउन मलाई सहजै आउथ्यो ।

गोरहैनी गोरहाभन्दा लामो बनाउनुपर्थ्यो । त्यसरी नै अगाडि, भुस वा खखरी राखेर गोबरको डल्लो माड्दै लामो बनाउनु पर्थ्यो । मुक्काले थपथपाएर सन्ठी हाल्नुपर्थ्यो ।

सन्ठी हालेर गोरहैनीको तलमाथि सन्ठी यतिकै देखिने गरी  छोड्नुपर्थ्यो सन्ठी समातेर गोरहैनी उठाउन बसाउन सजिलो हुन्थ्यो । त्यही नापको बतीले गोरहैनी उठाएर घरको भित्तामा अडेस लगाएर सुक्न दिन्थेँ ।

वैशाख जेठको गोबरबाट गोरहैनी बनाउथे भने असार साउनको गोबर मलको रूपमा धनखेतामा हाल्थेँ । भदौ असोजको गोबर जम्मा गरेर असोजमा आलु रोप्नेबेला आलुको दङमा (डयाङ्) हाल्थेँ । आलस र गहुँ खेतमा समेत गोबर मलको रूपमा हाल्थेँ।

थारू ट‍ोलमा कात्तिकदेखि चैतसम्म बारीका आलीहरू गोरहाका छोहा (चाङ)ले भरिएका हुन्थे  भने घर अगाडि र पछाडिका टाँटीका भित्ताहरू गोरहैनी ठडिएर सजिएका हुन्थे ।

गाउँका अरू मुसहरी टोला, हलुवाइटोली, दुसधटोली, तेलियारी चिपरीले  (गोबरले बनेको गोलो गुइँठा) सजिएका हुन्थे । उनीहरू गोरहा, गोरहैनी कम र चिपरी बढी बनाउथे ।  तर, थारू महिलाहरू प्राय: गोरहा, गोरहैनी नै बनाउने गर्दथे ।  गाउँका अन्य जातका महिलाहरू गोबरको चिपरी बनाउथे  ।

पुस, माघको शीतलहरमा आमालाई रूघा र ज्वरोले  च्याप्थ्य‍ो । हावा  चिसो चल्थ्यो । बिरामी परेर आमाले गोरहन बनाउन सक्नुहुन्थिएन ।   शीतलहरमा गोरहा बनाउने जन(श्रमिक) पाउदैन्थ्यो  । म प्रत्येक दिन गोरहा बनाउन जान्थेँ ।

घरको भित्ता फोहोर हुन्छ र गोरहा जतिको टिकाउ चिपरी हुँदैन भनेर गोरहा नै बनाउँथिइन् गाउँमा थारू महिलाहरू ।  बनाएको गोरहाबाट वर्षभरि भात पकाउथेँ उनीहरू । जरनघरा (दाउरा राख्‍ने ठाउँ)मा मुसा लागेन भने गोरहा दुई वर्षदेखि पाँच वर्षसम्म धान्थ्यो । चिपरी धेरै टिकाउ नभएकाले थारू महिलाहरू चिपरी बनाउनप्रति जागरुकता देखाउँदैनथिए ।

आमाले भन्नुहुन्थ्यो, ‘चिपरी बनाउन मेहनत लाग्दैन। खाली गोबरमा कुटी, खखरी हालेर भित्तामा फ्याके पुग्छ।चिपरी बनिहाल्छ।’ गोरहा वर्षभरि चलाउनलाई सकेसम्म खर, लार, पुवार र बाँसको पतही (पातहरू)ले खाना दोछिया चुलो (दुई मुखे) मा पकाउँथे महिलाहरू ।

वसन्त ऋतु सुरू भएलगतै बसुवाइर (बाँसघारी)मा भएका बाँस लगायत अन्य रूखका पातहरू सुकेर झर्थे । सबै काम सकाएर गाउँका महिलाहरू दिउँस‍ो ठूलो बोरा र खरा बोकेर बसुवाइर जान्थे । उनीहरू भुँइमा झरेका बाँसक‍ो पात सोहोर्न जान्थे । जसलाई पता खरर्नु भनिन्छ । आ-आफनो बसुवाइरबाट दिउँसो पतही भेला गरेर ल्याउदथे । त्यही पतहीबाट दोछिया चुलोमा खाना पकाउदथे । सुख्खा महिना छ्वाली, पतही, लार, पुवार, धानको बुट्टी र खरले दोछिया चुलोमा खाना पकाउदथे ।

वर्षा र जाडो महिना गोरहाले एकछिया चुलो(एक मुखे) मा खाना पकाउँथे ।  जाडो महिना गोरहाको आगो ताप्न र घुर बाल्न सहज हुन्थ्य‍ो । थारू महिलाहरू ग‍ोरहा बचाउँदै एकपल्ट बनाएको गोरहा वर्षभरि चलाउदथे ।

थारू टोलका महिलाहरूले गोरहा,  गोरहैनी नबनाइ चित्त बुझ्दैनथियो ।

गाईगोरू नभएका गाउँका स्वास्नी मान्छेहरू गाई, भैँसी  चराउन गएको बेला गोबर बिच्छन (सोहोर्न) गाई, भैँसीका पछि लाग्थे । गोबर बिच्छने स्वास्नीमान्छेलाई गोबरबिछी भनिन्छ ।  गाउँका कनकपुरनी ठाकुर र खेसराहावाली सदा गाई,भैँसीको गोबर बिछ्न गाई, भैंसी चराउन लगेपछि पछि लागेकै हुन्थे ।

आलीमा बसेर चर्दै गरेका गाई, भैँसीतिर हेरिरहन्थे ।गाई, भैंसी गोब्रयाएको जसले पहिले देख्थिन् उनैले कुदेर सोहोर्थिन् । कनकपुरनी र खेसराहावाली दुवैजनाको गोबोर सोहोर्न प्रतिस्पर्धा हुन्थ्यो ।

कनकपुरनी ठाकुर र खेसराहावाली सदाका नाम के थिए ? हामीले कहिले नाम जान्ने चासो राखेनौँ र नाम पनि सोधेनौँ । माइती गाउँका नामले सबैले उनीहरूलाई बोलाउथे । परिचयविहीन भएर बसे पनि उनीहरूले आफ्नो परिचय पाउन कहिले विरोध गरेको देखिनँ ।

अहिले मलाई उनीहरूको नाम जान्ने खुलदुली चल्छ बेलाबेला । त्यतिबेला  हामी गाई, भैंसी चरवाह (गोठाले)हरूले  किन उनीहरूका नाम सोधेनौँ सोचेर पश्चातापमा पर्छु ।  उनीहरू  संसार छोडेको वर्षौ भइसकेको छ । तर, उनीहरूको नाम जान्ने जिज्ञासा मेरो मनमा जस्ताको त्यस्तै छ ।  उनीहरू टाउकामा छितनी (बाँसको चोयाबाट बनेको ढाकी) बोकेका हुन्थे ।

गाई, भैँसीले ग‍ोब्रयाउने बित्तिकै लगतै  गोबर सोहोरेर छितनीमा हाल्थे । गोबर हालेर आली वा खेतको घाँसमा हात पुछ्थे । आलीमा बसेर चर्दै गरेका गाई, भैँसीतिर हेरिरहन्थे ।गाई, भैंसी गोब्रयाएको जसले पहिले देख्थिन् उनैले कुदेर सोहोर्थिन् । कनकपुरनी र खेसराहावाली दुवैजनाको गोबोर सोहोर्न प्रतिस्पर्धा हुन्थ्यो ।

कहिलेकाही त गाइवस्तुले गोब्र्याएको बेला कस्ले पहिले देख्यो भनेर प्रतिस्पर्धान हुन्थयो। उनीहरू आफूले पहिला गाइवस्तुले गोब्र्याएको देखेको र त्यसमा आफ्नो पहिलो सोहोर्ने हक लाग्ने दाबी गर्थिइन् । बेला बेला त उनीहरूको बीचमा भनाभनसमेत  हुन्थ्यो । यही कारणले उनी दुई/चार दिन एकअर्कासँग बोल्दैनदथे ।  दुई/चार दिनपछि बल्ल उनीहरू आपसमा बोल्ने गर्दथे ।  बेलुकी उनीहरू गाईभैँसीसँगै घर फर्किन्थे गोबरको भारी बोकेर।

फरक यति मत्र थियो खेसराहावाली आफ्नो छाप्रोको भित्ताभरि चिपरी टाँल्थिन् । गोबरलाई मल बनाएर हाल्नलाई उनको कुनै खेत  थिएन । उनी सुकुम्बासी थिइन् ।  चिपरी सुकिसकेपछि उप्काउँथिन । त्यही चिपरीले खाना पकाउथिन् । गोबर टिप्न गएको बेला खेतमा उम्रेका सरहौची साग टिप्थिन् । साग टिप्दै कनकपुरनी ठाकुरलाई भन्थिन्, ‘आज राति सरहौची साग र भात पकाउँछु। कनकपुरनी ठाकुरको गाउँबाहिर दुई कोला खेत थिय‍ो । चिपरी बनाएर उब्रिएको गोबर मल बनाएर त्यही खेतमा हाल्थिन् उनी।

 

वैशाख, जेठ महिना जन (मजदूरी)मा काम नहुने भएकाले यी दुई महिना गाई, भैँसीको गोबर टिप्न दैनिक कनकपुरनी र खेसराहावाली आउँथे ।

आधुनिकताले गाउँ गाउँमा राज गरिसकेको छ । हलगोरू  गाउँमा छैनन्। गाई पाल्न गाउँलेहरू अब झन्झट मान्छन्। भएका लैनो भैंसी बेचेर दिनदिनै खाडी भाँसिइरहेका छन् युवाहरू ।  गाउँलेहरू ट्याक्टरले खेती र थ्रेसरले दौनी गर्छन् । खाडी छिरेकाहरूले पक्की घर बनाए ।  अब गाउँमा बिस्तारै खरका छाना फालेर पक्कीका छानाहरू बन्‍न थालेका छन् । थारुको पुराना शैलीका घरहरू लोप हुन थालेका छन् भने आधुनिक डिजाइनका घरहरू धमाधम बन्न र बनाउन थालेका छन् ।

खाडी नछिरेकाहरू खेत बेचेरै भएपनि जसोतसो पक्की घर बनाउँदै छन् । अब गोरहा (गुइँठा)को सट्टा ग्यास चुलो घर-घरमा भित्रिँदै छ । आगो ताप्न गोरहाको सट्टा हिटर घरहरूमा भित्रिएका छन् । समय परिवर्तन भएसँगै सुविधायुक्त र पहिलाको भन्दा सहज जीवन बाँच्न थालेका छन् गाउँलेहरू ।

प्रतिक्रिया दिनुहोस्