४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

शेखर कोइरालाको आरोप : प्रधानमन्त्री प्रचण्डले शहीदहरुको अवमूल्यन हुने काम गर्नुभयो

१६ माघ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरुको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन् ।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो। शहीद दिवसका दिन हामीले शहीदहरुलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’

प्रजातन्त्रका निम्ती बलिदानी दिएका शहीदको अवमुल्यन नगर्न उनले प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।  ‘शहीदको वास्तविक परिभाषालाई अंगिकार गरी अघि बढ्दा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिब्यक्ति दिएका थिए ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्