४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः  ओली

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रबार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । बैंकहरु पनि मिटरब्याजी भएका छन् ।’

अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताए ।उनले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताए ।

उनले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताए ।अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गरे ।

‘प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ । अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन ।’ उनले भने ।

उनले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गरे । उनले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गरे ।

उनले बैंकको ऋण सदुपयोग भए/नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘ बैंकको ऋण नतिर्ने भनेर बैंकहरुले केही आधार बनाइदिएकाले आन्दोलित भएका हुन् । बैंकहरुले जसलाई ऋण आवश्यक छैन । उसलाई बिना धितोमा पनि ऋण दिन्न्छन् ।’

कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘ बैंकले दिएको ऋण सदुपयोग भएको छ वा छैन । त्यो बैंकले केही हेर्दैन। धितो छ के मतलव भनिएको छ । धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन ।’ उनले भने ।

बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन/बढाउन सकिने उल्लेख गरेको भएपनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको उल्लेख गरे ।उनले बैंकबाट कर्जा लिँदा दुई पक्षिय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताए । बैंकहरु नाफाखोर, निर्मम साहुजी नभएको भन्दै बैंक विकासका सहयोगी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्