३१ भाद्र २०८१, सोमबार
राजनीति समाचार समाज

रवि लामिछानेसहित १८ जनाविरूद्ध कास्की प्रहरीमा उजुरी

२२ माघ, काठमाडौं । सुर्यदर्शन सहकारी पीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचरहब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्र्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पुरक’ जाहेरी दिएको अनलाइनखबरलाई बताए । उनले उक्त विषयमा पहिल्यै दर्ता भइएर अनुसन्धान जारी रहेकाले दर्ता गर्नु नपर्ने बताए ।

‘यो विषय यहाँबाट अदालतमा पनि पुगिसकेको विषय हो । यस विषयमा थप अनुसन्धानका लागि उहाँहरुले उजुरी दिनुभएको हो’, डीएसपी विकले भने, ‘यो पनि पहिलेकै विषयसँग जोडेर पुरक अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्