४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज 

१ फागुन, काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ ।

कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो ।

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ माघको निर्देशन कार्यान्वयन गर्दै कोषले ती सम्झौता तथा कार्य खारेज गरेको हो । यसअघि कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो ।

रामग्राम क्षेत्र गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल हो । यो नवलपरासी जिल्लामा पर्छ । यस क्षेत्रको उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्न कोषले निजी कम्पनीसँग समझदारी गरेसँगै लेखा समितिले यसमा चासो देखाएको थियो ।

यस क्षेत्रमा यसअघि कोषसँग रहेको जग्गा र थप १ सय १६ बिघा जमिन अधिग्रहण गरी कोषले निजी कम्पनीको जिम्मा लगाउने गरी सम्झौता गरेको थियो ।

यस क्षेत्रको गुरुयोजना बनाएर विभिन्न देशका स्तूप निर्माण तथा गुम्बाहरू बनाउने योजना थियो । अर्थ र पर्यटन मन्त्रालयको स्वीकृतिबिना कोषले सम्झौतासहित योजना अगाडि बढाएपछि संसदीय समितिले रोक्न निर्देशन दिएको थियो ।

कोषले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी द प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्नमात्र करिब १ अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे ५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

विवादास्पद छविका लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा बिनाप्रतिस्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि भाडामा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयको स्थानीय जनता, सरोकारवाला र राजनीतिक दलले विरोध गर्दै आएका थिए ।

बौद्धग्रन्थ अनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तूप हो । संसारका बौद्धमार्गीका लागि यो स्तूपको ठूलो महत्व छ ।

हेर्नुहोस् कोषको निर्णय :

प्रतिक्रिया दिनुहोस्