५ आश्विन २०८१, शनिबार
समाचार समाज

साढे ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्न सुरु

४ फागुन, काठमाडौं । साढे ६ दशकपछि हुलाक टिकट नेपालमै छाप्न सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडलाई ८० लाख थान छाप्न जिम्मा दिएपछि नेपालमै हुलाक टिकटको पुनः छपाइ सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि विदेशमा छाप्न पठाउने गरिएको थियो । यसै वर्ष वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको उनले बताए ।

सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।

शुक्रबार हुलाक सेवा विभागले नेपालमै छापेको हुलाक टिकटमा टाँचा लगाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शहीदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको जानकारी दिइन् ।

उनले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्