४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस महासमिति बैठकमा २५ सय बढी सहभागी हुने

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको आधिकारिक संख्या २ हजार १०५ हुने पार्टीले जनाएको छ ।

सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने महासमिति बैठकमा आधिकारिक प्रतिनिधिको संख्या दुई हजार १०५ भए पनि सहभागीको संख्या २५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 

केन्द्रीय समितिका १६५ जना, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापति लगायत सहभागी हुनेछन् ।

 

महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई पनि आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका तीन जिल्लाका सदस्य टुंगो लगाउन निर्वाचन समिति प्रयासरत रहेको विश्वकर्माले जानकारी दिए ।

 

पाँच प्रतिवेदन पेश हुने

 

महासमिति बैठकको सोमबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने छन् ।

 

महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ मूल नारा बनाइएको छ ।

 

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने छ ।

 

नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्ने छन् ।

 

प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

 

नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । ‘तराइ, पहाड, मधेस, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ विश्वकर्माले भने,‘महासमिति बैठकमा बोल्न सहभागीका लागि अवसर जुरोस् भनेर समूह विभाजन गरिएको हो । ६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’

 

२ करोड खर्च हुने अनुमान

 

महासमिति बैठकमा करिब दुई करोड खर्च हुने कांग्रेसले अनुमान गरेको छ । महासमिति बैठकका लागि करिब ८० लाख रुपैयाँ आर्थिक संकलन हुने अनुमान गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी गराए ।

 

महासमितिमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यसबाट खर्च नपुग्ने भएकाले पार्टीका व्यवसायिक व्यक्तिबाट चन्दा मागिएको कांग्रेसले जनाएको छ ।

 

‘दर्ता शुल्कबाट ६०/६५ लाख उठ्ने अनुमान गरेका छौं । लेबीबाट २२ लाख उठ्ने अनुमान गरेका छौं,’ विश्वकर्माले जानकारी दिए ।

 

आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने

 

महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था स्वयंले गर्नुपर्ने छ । बिहानको नास्ता र दिउँसोको खाना महासमिति बैठक हलमा व्यवस्था गरिने छ ।

 

सोमबार उदघाटन र समापन हुने १० फागुनमा भने नास्ता र खानाको व्यवस्था पार्टीले गर्ने छैन ।

 

भोजन व्यवस्थापन उपसमितिका संयोजक उदयशमसेर राणाले २५ सय देखि ३ हजारसम्मका लागि खाना खाने गरी व्यवस्था मिलाइएको बताए ।

 

महासमिति बैठकबाट आवाससम्म पुग्नका लागि २० वटा निशुल्क बसको व्यवस्था गरिने छ । बिहान ७ बजे बैठक स्थलमा जानका लागि तयार हुनुपर्ने प्रतिनिधिलाई बेलुका ६ बजे बस्ने ठाउँमा बस मार्फत पुर्‍याइने छ ।

प्रतिक्रिया दिनुहोस्