४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार समाज

गठबन्धनबारे कांग्रेस महासमिति सदस्यहरूबीच मत बाझियो

भुईंमान्छेका आवाज सुन्नुपर्ने माग

९ फागुन, काठमाडौं। नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् ।

महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रश्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका हुन् ।

महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताए ।

उनले आगामी निर्वाचनमा बिरोधीहरु एकै ठाउँमा उभिएमा कांग्रेसले बिरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालिन अवस्थामा भर पर्ने बताए ।उनले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘ चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ । एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो । तर लड्नुपर्दाखेरी काँग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनिहरुलाई फुटाउनका लागि काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गरेको बताए ।

उनले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिए ।

उनले भने, ‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन । बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ । त्यो सँगसँगै आर्थिक नीतिहरु राम्रो भएन । नेपालको अर्थतन्त्र कन्तुरमा थन्क्याएर जनता भोकै मर्ने अर्थतन्त्र चाहिएको छैन । जनताको बीचमा पुग्नुपर्‍यो । अर्थतन्त्र चलायमान हुनुप¥यो । यो नीति काँग्रेसले लिनुपर्‍यो । युवालाई रोजगारी दिने, नेपालमा लगानीको वातावरण कसरी सिर्जना गर्ने यो विषयमा विस्तृत रुपमा छलफल भइरहेको छ । सरकारको काम कारबाहीमा सन्तुष्ट छैनन् । मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भए भन्ने आयो । सरकारले नयाँ काम गरेको अनुभुति हुनुपर्यो‍ भन्ने छ ।’

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताए । उनले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताए । महासमिति बैठकमा उपस्थितहरुलाई ४ समुहमा विभाजन गरि महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ ।

उनले भने, ‘‘आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको ठुलो संख्यामा मत राखेका छन् । पार्टी विधानतः चलेको छैन भन्ने कुरालाई त्यत्तिकै प्राथमिकताका साथ राख्नुभएको छ । केन्द्रिय तहका नेताहरु पनि वडामै गएर निर्वाचन लडेर फेरि केन्द्रिय सदस्य लड्ने पूर्वाधार तयार गर्नुपर्छ भनिएको छ । स्वच्छ छलफल भएको छ ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताए । उनले जनतालाई आशाको सन्देश दिनुपर्ने बताए । उनले सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्ने बताए ।

उनले भने, ‘महासमिति आफैँमा गर्वको विषय हो । महासमितिले नेपाली काँग्रेसलाई उत्साह जनाउन सक्नुपर्छ । निराशाको सन्देश दिनु हुँदैन । भुई मान्छेका कुराहरु सुनिनुपर्छ । सबै समावेशिताका मुद्दाहरु महासमितिले उठाउन सक्नुपर्छ । कार्यपत्रहरु प्रश्तुत भएका छन् ।’

उनले महासमितिको बैठक आफैँमा गर्वको विषय भएको भन्दै महासमितिले काँग्रेस र जनतामा उत्साह जगाउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्