५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

संसदमा वादविवादमा उत्रिए माओवादी र राप्रपा सांसद

१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ ।

आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् ।

सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको पनि बताए ।

‘तर, यो व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ’, उनले भने, ‘पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु समेत लिने । फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’

राप्रपाका सांसदहरुले संसदमा राजसंस्थाको वकालत गर्दै आएका छन् । त्यसतर्फ संकेत गर्दै माओवादी सांसद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए ।

‘यो संसदमा यो संविधानका विरुद्धमा बेलाबखत जसरी विरोध भइराखेको छ, हमला भइराखेको छ, यसलाई ध्वंश तुल्याउने जो भइराखेको छ यसका बारेमा सचेत तुल्याइनुपर्दछ, सचेत गराइनुपर्छ’, उनले दोहो¥याए, ‘यही संविधानले दिएको लोगो र यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगोको आधारमा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पड्काउने, प्रदेशतिर सभामुख लिने तर, फेरि यो संविधान विरोध गर्ने ?’

वर्तमान व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने भन्दै उनले व्यवस्था विरोधी बहसको बारेमा सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ दिए ।

‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ

दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ

थिए होलान् तिनीहरुका पनि सपना

न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भएपछि

न्याय खोज्न अब कहाँ जाने ?

आँखाबाट आँशु झार्दै

भक्कानिएर रुन्छिन् तिनकी आमा

अपराधीलाई कारबाही गर भनी

संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,

जति दबाउन सक्छौ दबाऊ,

दबिएर दबिँदैन यी आवाजहरु

एक दिन उठ्नेछन् र भन्नेछन्

भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन

यो देशबाटै भगाऔं ।’

माओवादी सांसद सापकोटाले राप्रपा सांसद ज्ञानेन्द्र शाहीसँग यसअघि पनि वादविवाद गरेका थिए । गत शुक्रबार सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए । त्यसको जवाफ आइतबार राप्रपा संसद शाहीले कवितामार्फत दिए ।

शाहीले संविधानको व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनमा माग्न नपाउने बताए ।

विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न नपाइने उल्लेख गर्दै उनले भने, ‘अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो ।’

संविधानको धारा १०३ ले कुनै पनि सांसदलाई बोलेकै आधारमा राजीनामा माग्न नपाउने विशेषाधिकार दिएकोसांसद शाहीले बताए । अहिलेको व्यवस्थाको विरोधमा बोल्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ ले नरोकेको पनि शाहीले सांसद सापकोटालाई जवाफ दिए ।

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै उनले कसैले राजीनामा माग्न नसक्ने दोहोर्‍याए । ‘मैले किन राजीनामा दिने ? मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले किन राजीनामा दिने ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो राजीनामा मागिएको सम्बन्धमा प्रयोग गरेका शब्दहरुप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ती गरे ।

प्रतिक्रिया दिनुहोस्