४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि आन्दोलन गर्ने

१३ फागुन, काठमाडौं । जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि आन्दोलन घोषणा गरेको छ । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने जनाएको छ ।

जनमतले देश राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अर्कमण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको भन्दै देशकै शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भूटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर घट्दै आए पनि कतै कुनै छानविन र कारवाही नभएको उल्लेख छ ।

‘बिना घुस जनताको कतै कुनै काम भइराखेको छैन । संसद पूर्णतः प्रभावहिन बन्दै चार नेताहरूको मुठ्ठीमा फँसेको छ । न्यायापालिका पूरै बिक्री भइसकेको अवस्था छ । सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ । जहिले पनि कुर्सीको लडाइ छ’, जनमतले जारी विज्ञप्तिमा भनेको छ, ‘देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेको उद्योगधन्धाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदै छन् ।’

जनमत पार्टीले आठ लाखभन्दा बढी युवाहरू बर्षेनी विदेशिन बाध्य भए पनि रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको जनाएको छ । साथै, चारैतिर निषेधित क्षेत्र घोषणा गरेर, अभिव्यक्ति स्वतन्त्रता हरण गरेर लोकतन्त्रको हत्या गर्ने काम सरकारले गरिरहेको जनमत पार्टीको आरोप छ ।

तरकारी र खाद्यन्नसमेतमा भ्याट लगाएर सरकारले जनताबाट चर्को कर तथा राजस्व उठाइरहेको, तर भ्रष्टाचारको कारणले प्रहरी र कर्मचारीलाई तलब समेत खुवाउन असमर्थ रहेको जनमतको भनाइ छ ।

‘देशको अर्थतन्त्र धराशायी छ । अब देशको विकासको लागि जनता नउठे यो देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ’, जनमतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ, आदरणीय दिदीबहिनी दाजुभाइहरू अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरैपटक आन्दोलन गर्‍यौँ, अब आफ्नो आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’

जनमतले विभिन्न ९ वटा माग अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्