४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मिटरब्याज पीडितले गरे काठमाडौंमा खाली खुट्टै प्रदर्शन

१५ फागुन, काठमाडौं । तेइस दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटर व्याज पीडितहरुले काठमाडौंमा खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मंगलबार दिउँसो काठमाडौंको भृकुटी मण्डपदेखि खाली खुट्टा हिँडेर टुँडिखेल परिक्रमा गरेका हुन् ।

उनीहरुले सोमबार नै खाली खुट्टा हिँडेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरीले सामान उठाउने डरले उनीहरुले सोमबार भृकुटी मण्डप छाडेका थिएनन् ।

मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट ५०० र पश्चिमबाट २०० जना पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।

मिटरब्याजको समस्याबारे जाँचबुझ गर्न बनेको आयोगले २८ हजार निवेदनका आधारमा पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला परेको थियो ।

पीडितहरुले ती सबै लिखत खारेज हुनु पर्ने र आफूहरुले लिएको पैसाको आधारमा ऋण तिर्न पाउने व्यवस्थाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्