२ माघ २०८१, बुधबार
मुख्‍य समाचार

अब क्यूआरबाटै काठमाडौंका सम्पदाबारे जानकारी लिन सकिने

१७ फागुन, काठमाडौं । क्यूआर कोड मार्फत नै काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ ।

महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै सम्पदाबारे जानकारी पाउन सहज होस् भन्ने उदेश्यले क्यूआर सेवाको थालनी गरिएको वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

‘घुम्न आउनेले स्मार्ट फोन बोकेकै हुन्छन् । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कार लगायत विविध विष्षय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउँछन् । उनीहरुलाई जानकारी सजिलो होस् भनेर प्रयोगका रुपमा अहिले दुई वटा मन्दिर र एउटा महाविहारको चिनारी क्यूआर कोडमा राखेका हौं,’ उनले भने ।

वडाले द सारङ्‍गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्