५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिमका मन्त्रीलाई फिर्ता हुन नागरिक उन्मुक्ति पार्टीको निर्देशन

२६ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन् ।

‘संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौं तर त्यहाँ साथीहरु नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बन्नुभएको रहेछ । मैले उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु,’ अध्यक्ष श्रेष्ठले भनिन् ।

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी दिइन् ।

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए ।

जब कि श्रेष्ठले शुक्रबार नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन् ।

अहिले सरकारमा गएका दलका नेतासहित प्रदेश सभा सदस्य पार्टीका संरक्षक रेशम चौधरी निकट मानिन्छन् ।

चौधरीलाई निर्वाचन आयोगले अध्यक्षमा निरन्तरता नदिएपछि श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई पार्टी सञ्चालन गर्ने अधिकार मिलेको थियो ।

रेशमको जोडबलमा सरकारमा गएका प्रदेश सभा सदस्यहरुलाई पार्टी अध्यक्षले फिर्ता हुन निर्देशन दिएपछि उनीहरु नैतिक संकटमा परेका छन् ।

माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका थिए ।

राप्रपा र स्वतन्त्र सांसदले नाउपाको भूमिका स्पष्ट नभएको बताएपछि शाहले नाउपाबाट मन्त्री थपेका थिए । नाउपाका रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्