५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषदको वरियतामा उपेन्द्र यादवभन्दा रवि लामिछाने अगाडि

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् ।

यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका छन् । यादव मन्त्रिपरिषदमा पाचौं वरियतामा छन् । प्रधानमन्त्रीको वरियतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।

यादव २०६५ सालमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । त्यसपछि उनी २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री थिए । पछि उनलाई ओलीले स्वास्थ्यबाट हटाएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएका थिए ।

उपप्रधानमन्त्रीहरुको वरियता निर्धारण गर्दा दलको संसदमा रहेको हैसियतका आधारमा गरिएको छ । जसअनुसार ठूलो दल एमालेका उपप्रधानमन्त्री पहिलो वरियतामा र त्यसपछि क्रमशः माओवादीका श्रेष्ठ, रास्वपाका लामिछाने र जसपाका यादव छन् ।

पद तथा गोपनीयताको सपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेका यादवले पत्रकारहरुको प्रश्नको जवाफमा आफूले वरियतामा धेरै वास्ता नगर्ने बताए । ‘म त ग्रासरुटमा बसेर काम गर्ने मान्छे हुँ, यस्ता कुरा थाहा पनि हुँदैन, वास्ता पनि हुँदैन’, यादवले भने ।

सरकारमै सहभागी एकीकृत समाजवादीका नेता भानुभक्त जोशी भने आठौं वरियताको मन्त्री छन् । २२ सदस्यीय मन्त्रिपरिषदमा जसपाका नवलकिशोर साह सुडी अन्तिम वरियतामा छन् । उनी भन्दा अगाडि रास्वपाबाट मन्त्री बनेका नेताहरु छन् ।

हेर्नुहोस् प्रचण्ड मन्त्रिपरिषदका सदस्यहरू :

 

प्रतिक्रिया दिनुहोस्