Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ग्यालेक्सी एक्सिलेन्स अवार्ड तेश्रो संस्करणको घोषणा, विभिन्न विधामा अवार्ड दिइने

रातो कागज
1 वर्ष अघि

२७ फागुन, काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ ।

कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।

केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ–आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोश्रो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए ।

यस्तै, उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।

विहिवार भएको उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास वोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालीटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्यूजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साईन्सका प्रवक्ता डा. विक्रम शाह, एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्क्वायरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्टराई, लि डिभाईन, भारतका प्रमुख तथा ईभेन्ट डाईरेक्टर पुनम कौशिक, अर्का भारतिय ईभेन्ट व्यबस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद् रमा प्याकुरेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । घोषणा समारोहलाई कलाकार गोपाल ढकाल छन्देले सहजीकरण गरेका थिए ।

आयोजक सँस्थाका अनुसार यस अघिका वर्षमा होटल र्याडिसन तथा होटल ह्यायत प्यालेसमा भएको पहिलो र दोश्रो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आउदो मे २५ होटल हायात प्यालेसमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ ।

ईच्छुक सम्बन्धित दक्ष एवं विज्ञहरुले अवार्डको वेबसाईट डव्लु डव्लु डट ग्यालेक्सि एक्सिलेन्स अवार्ड डटकमबाट थप जानकारी लिई आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । देशका मात्र नभई विश्व व्यापी ख्याती कमाएका व्यत्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया