१० मंसिर २०८१, सोमबार
अर्थ मुख्‍य समाचार समाचार समाज

लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्नुस् : अर्थमन्त्री पुन

४ चैत, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेका छन् ।

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक लगानी कोषलाई निर्देशन दिएका हुन् ।

उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरूलाई भविष्यमा नदोहोर्‍याउने प्रतिविद्धतासहित अघि बढ्न सुझाव दिए । लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए ।

उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए ।

उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । उनले प्रशासन संयन्त्रको शुद्धीकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए ।

अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्