४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

रविको बचाउ गर्दै ओलीले भने : कांग्रेसले बद्नाम गर्न खोज्यो

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

तर ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए ।

बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानविन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीको दाबी गरे ।

प्रदेश सरकारको भागबण्डा र पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले अनुमानका भरमा प्रतिक्रिया दिन नहुने बताए ।

प्रधानमन्त्रीमा आलोपालोमा भने ठट्टा गरे । ‘अहिले उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री बने हुन्छ भनियो’ ओलीले भने, ‘मलाई पनि त्यति मन लाग्या छैन, अरु कोही अगाडि सरेको पनि छैन । अब के गर्ने ? उहाँले खानुहोला जस्तो देखिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्