२५ कार्तिक २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

कोशी र मधेशसँगै काठमाडौंमा पनि पानी पर्‍यो

७ चैत, काठमाडौं । अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानसँगै काठमाडौंमा पनि वर्षा भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।

अनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान सिमसिमे पानी पर्‍यो भने कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी पर्‍यो ।

मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षा भएको छ ।  ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने ।

उनका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।

यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए ।

प्रतिक्रिया दिनुहोस्