३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीबारे प्रधानमन्त्रीले जवाफ नदिएको भन्‍दै कांग्रेसको आपत्ति

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको विषयमा स्पष्ट जवाफ नदिएको भन्‍दै आपत्ति जनाएका छन् ।

उनीहरूले गृहमन्त्री लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएर सहकारी ठगीको ढाकछोप गर्न खोझेको आरोप लगाएका छन् ।

उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएपछि कांग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो।

प्रधानमन्त्री दाहालले लामिछानेमाथि अनुसन्धान गर्न प्रमाण छैन भनेको र आफूहरूले प्रमाण छ भनेकोले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको कांग्रेस सांसद ईश्वरी न्यौपानेले बताइन्।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले बोल्न न्यौपानेलाई समय दिएका थिए।

उनले सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनुपर्ने बताइन्। अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन्।

‘प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष। यसका लागि कसले छिनोफानो गर्ने। सभामुख महोदय तपाईं सदनको नेता हो। आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं,’ न्यौपानेले भनिन्।

 

 

प्रतिक्रिया दिनुहोस्