४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारत लगेर युवती बेचेको आरोपमा दुई युवक पक्राउ

१८ चैत, काठमाडौं । भारत लगेर एक युवतीलाई बेचबिखन गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्दै आएका २५ वर्षीय अर्जुन भनिने चन्द्रबहादुर तामाङ र दुप्चेश्वर–३ घर भइ तोर्केश्वर–७ बस्दै आएका ३० वर्षीय किरण तामाङ छन् ।

उनीहरुलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तार्केश्वर ५ र ७ बाट १६ चैतमा पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुयालका अनुसार पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरुले सामाजिक सञ्जालबाट चिनजान भएकी एक युवतीलाई वैदेशिक रोजगारीमा होटलमा काम लगाइदिने भन्दै भारत पुर्‍याएर बेचबिखन गरेको आरोप छ ।

भारतमा २÷४ घुमेर विदेश जाने भनि भारत पुर्‍याएर उनीहरु गत १९ मंसिरमा तीन जना अपरिचित भारतीय महिलाको जिम्मा लगाएको आरोप छ । आफू बेचिएको शंका लागेपछि पीडित महिलाले आफन्तसँग सम्पर्क गरेकी थिइन् । त्यसपछि ती महिला भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

पछि विभिन्न संघसंस्थाको सहयोगमा गत १२ पुसमा उनी नेपाल फर्केकी थिइन् । नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् । पीडित महिलाको जाहेरीपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको एसपी फुयालले बताए ।

प्रतिक्रिया दिनुहोस्