४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंका संस्थागत विद्यालयले नेपालीमा नाम नराखे भर्ना रोक्का

२२ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ ।

पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ ।

त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ ।

अहिले काठमाडौँमा मात्रै नभएर अन्य जिल्लामा समेत अङ्ग्रेजीमा विद्यालयको नाम राख्ने चलन बढेको छ तर काठमाडौँ महानगरपालिकाले मात्रै नेपालीपन झल्कने नाम राख्ने निर्देशन दिएको समाचार गोरखापत्र दैनिकमा सूर्य प्रसाद पाण्डेले लेखेका छन् ।

अझ विद्यार्थीमाझ आफूलाई फरक रूपमा प्रस्तुत गर्न विद्यालयले नामसँगै इन्टरनेसनल शब्द जोड्ने चलन पनि बढेको छ । तर इन्टरनेसनल शब्द जोडे पनि त्यस्ता विद्यालयमा विदेशी मुलुकका विद्यार्थी भने पढ्दैनन् ।

अहिले राजधानीमा ह्वाइटहाउस, ट्रिनिटी, मिल्सबेरी, युरो किड्स, किड्जी, ब्राइट फ्युचर, लिभरपुल, गोल्डेन गेट, ग्लोबल, प्रिमिअर, जेम्स, नाइटिङ्गल, लिटिल एन्जल्स, हेराल्ड जस्ता अङ्ग्रेजी नाममा सञ्चालित विद्यालय छन् ।

महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले जानकारी दिइन् ।

ती विद्यालयको नाम रुजु गर्ने काम भइरहेकाले सङ्ख्यामा तलमाथि हुन सक्ने उनले बताइन् । रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न सचेत गराइने छ । पत्राचारको काम बिहीबारदेखि नै सुरु गरिने छ ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ ।

बुधबार सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको छ ।

विभागका निमित्त शिक्षा प्रमुख सरस्वती पोखरेलका अनुसार सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ । तर आफूहरूको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्