३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसीलाई

२५ चैत, विराटनगर । यस वर्षको आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको शहीद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएकामध्ये शहीद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेको छ ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरि टिमलाई अग्रता दिलाए ।

युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए ।

मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।

प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार पाए ।

बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए ।

सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।

विजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्