निलम्बन फुकुवा माग गर्दै टेकबहादुर गुरुङले दिए निवेदन
२८ चैत, काठमाडौं। कांग्रेस सांसद टेकबहादुर गुरुङले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।
सर्वोच्च अदालतको आदेशसहित निलम्बन फुकुवाको माग गर्दै निवेदन आएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार गुरूङले संसद बैठकमा सहभागिता जनाउन पाऊ र सेवा सुविधा सुचारु गर्न समेत अपिल गरेका छन् ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले चैत १६ गते गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो ।
गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनाव लडे र जिते पनि ।
तर अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म स्वतः स्वत निलम्बनमा हुनुपर्ने बतायो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २६ मा कुनै राष्ट्र सेवकविरुद्ध मुद्दा परेमा किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्य पनि सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक भएको भन्दै अख्तियारले विशेष अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नभएसम्म सांसद गुरुङ स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न संसद् सचिवालयलाई ८ पुस २०७९ मा पत्र लेख्यो । अख्तियारको पत्रका आधारमा १२ पुसमा संसद् सचिवालयले सांसद गुरुङ स्वतः निलम्बनमा परेको सूचना निकाल्यो ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा लिएको विषयमा परेको मुद्दामा विशेष अदालतले २५ फागुन २०७९ मा गुरुङलाई १ करोड २१ लाख ८४ हजार रुपैयाँ जरिवाना सुनायो । यसविरुद्ध अख्तियार पुनरावेदनमा गएको छ ।
तर आफ्नो निलम्बन नहटेपछि गुरुङ सर्वोच्च गए । उनको मुद्दामा सुनुवाइ गर्दै संयुक्त इजलासले अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संसद् सचिवालयले निकालेको निलम्बनको सूचना संविधानको धारा २० (५), ८७, २४६ (३) संघीय संसद् सचिवालय सम्बन्धी ऐनको दफा ९ र प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) र (४) को प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण भएको ठहर गरेको छ ।
संविधानको धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन भनिएको छ भने धारा ८७ मा संसदको योग्यतासम्बन्धी व्यवस्था छ । यस्तै २४६ (३) मा ‘उम्मेदवारी दर्ता भइसकेको, तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा उम्मेदवारको योग्यताबारे प्रश्न उठेमा निर्वाचन आयोगले निर्णय गर्नेछ’ भनिएको छ । गुरुङविरुद्ध उम्मेदवार हुँदा नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भनेर उजुरी गर्दा निर्वाचन अधिकृतको कार्यालयले भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण अयोग्य नहुने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले उम्मेदवारी सदर गरेर निर्वाचित भइसकेको अवस्थामा अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संघीय संसद सचिवालयले गरेको निर्णय त्रुटिपूर्ण भएको अदालतको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्