दूधकोशीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

२९ चैत, काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुने दर्जी ट्याक्टर चालक हुन् भने राई सह-चालक हुन् । उनीहरू बुधबार दिउँसो १ बजे दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्