३ आश्विन २०८१, बिहीबार
खेलकुद

बहराइनमाथि ओमानको रोमाञ्चक जित

३० चैत, काठमाडौं । घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा बहराइनलाई ३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

अन्तिम ५ बलमा ७ रन बहराइनलाई चाहिएको अवस्थाबाट रोक्दै ओमानले विजयी सुरुवात गरेको हो ।

१७८ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाउन सक्यो । बहराइनका इमरान अलीले ३४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

हैदर बटले २७ बलमा ३ चौका र ३ छक्कासहित ४७, आहमेर बिन नासिरले ३८ रन बनाए ।

अन्तिम ६ बलमा बहराइनलाई जित्नलाई ११ रन चाहिएको थियो । बिलाल खानलाई पहिलो बलमा बिनले चौका हानेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो । तर त्यसपछि दोस्रो र तेस्रो बल बिनले डट खेल्न पुगे । चौथो बलमा दुई, पाँचौंमा डट र अन्तिम बलमा १ रन लिएपछि हार्न पुग्यो ।

ओमानका बिलाल खान, सकिल अहमद, फयाज बट र अकिब इलियसाले २–२ विकेट लिए । त्यसअघि अलमरेत क्रिकेट मैदान–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

ओमानका अकिब इलियासले ५३ बलमा २ चौका र २ छक्कासहित ६२ रन बनाए । जिशान मकसुदले २५ बलमा ४ चौका र २ छक्कासहित ४५, कश्याप प्रजापति ३८, नसिम खुसी १८ रन बनाए ।

बहराइनका अली दाउद, रिजवान बट, अब्दुल मजिदले १-१ विकेट लिए । समूह बी अर्को पहिलो खेलमा युएईले कुवेतलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह ए मा नेपाल र मलेसियाबीच ४ : १५ पछि खेल हुनेछ । अर्को समूह ए को खेलमा कतारले हङकङसँग सोही समयमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्