५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले माग्यो कार्यकारी निर्देशक

२ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्ने प्रक्रिया सुरु भएको छ ।

शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट आजको मितिले २१ दिनभित्र आवेदन आह्वान गरेको छ ।

कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ ।

निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ ।

अन्य योग्यतामा कुनै संगठित संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा पाँच वर्षको कार्य अनुभव हासिल गरेको, व्यवस्थापन वा सभा सम्मेलनमा व्यवस्थापनमा विशेष ज्ञान वा अनुभव भएको हुनुपर्ने छ ।

कार्यकारी निर्देशक पदको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्