४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु

३ वैशाख, काठमाडौं। निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ ।

आयोगको २०८० साल फागुन १३ गते बैठकले आजदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरू भएको आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि-रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जनाएको छ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ । तर कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ ।

कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा मतदाता नामवली ऐन, २०७३ को दफा नौ बमोजिम आयोगले निवेदन लिई मतदाताले साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा दिन सक्ने व्यवस्था गरेको छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा (३) बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।

प्रतिक्रिया दिनुहोस्