४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले टी-२० आईमा पहिलो पटक साउदी अरेवियासँग खेल्दै

५ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाको लडाई मात्रै हुनेछ । साउदी अरेविया ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केहि खेलाडीलाई विश्राम दिनसक्छ । बेन्चमा भएका अनिल कुमार शाह र प्रतिश जि.सीले मौका पाउन सक्छन् ।

नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन् । नेपालले टी२० आईमा साउदी अरेवियासँग पहिलो पटक खेल्दैछ ।

यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका नेपालका दीपेन्द्र प्रमुख हतियार हुन् । दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल नेपाल मुख्य खेलाडी हुन् ।

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

आज ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र युएई दुबै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र युएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।

मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् । आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुबै टोलीले फराकिलो जित हात पार्नुपर्छ ।

सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्