३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

पोखरा महानगरका इन्जिनियर शिव बराल घुस प्रकरणमा पक्राउ

५ वैशाख, पोखरा । पोखरा महानगरपालिका इन्जिनियर शिव बराल पनि घुस लिएको प्रकरणमा पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा उनलाई मंगलबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार इन्जिनियर बराललाई पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको हो । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको सूचना अधिकारी शिवाकोटीले बताए ।

उनले भने, ‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालकोसमेत संलग्नता देखिएपछि पक्राउ गरी केन्द्रीय कार्यालय पठाएर अनुसन्धान भइरहेको छ । रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक-पटक लिएको अनुसन्धानबाट देखिएको छ । थप अनुसन्धान केन्द्रीय कार्यालयले गर्नेछ । ’

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ परेका थिए ।

चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् । सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा समातिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्