४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

साउदीलाई हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनलमा

५ वैशाख, काठमाडौं – नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ ।

 

समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

 

नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

 

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए ।

 

एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए ।

 

दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए । त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

 

मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो । ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए ।

 

अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

 

अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए । नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

 

नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

 

नेपालले शुक्रबार समूह बी को विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्