२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार समाज

मटिहानीको आगलागी ६ घण्टा पछि नियन्त्रणमा आयो

१२ वैशाख, जनकपुरधाम। महोत्तरीमा आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी भगवती टोलकामा दिउँसो १ बजे एउटा घरबाट सल्केको आगोले वस्ती चपेटामा परेको थियो ।

आगलागीमा करिब १२५ भन्दा बढी घर जलेको मेयर हरिप्रसाद मण्डलले बताए । १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।

धनुक, मुस्लिम, पासवन, मलाह, बिन लगायतको विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । अधिकांश घर तल काठ र छानो जस्ताको थियो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।

उनका अनुसार मानवीय क्षति भने भएको छैन । तर आगलागीमा ५ वटा बाख्रा र दुईवटा सुँगुर जलेर मरेको उनले बताए । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्