काेशीमा नयाँ सरकार गठन आह्वानको तयारी
२६ वैशाख, माेरङ । मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वानको तयारी भएको छ । संविधानको अन्य उपधारा अनुसार गठन भएका मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत नलिए स्वत पदमुक्त हुने प्रावधान र केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासको व्याख्या अनुसार केदार कार्की स्वत पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखले तयारी गरेका हुन् ।
प्रदेश प्रमुखले पनि आज–भोलि नै सरकार गठनका लागि आह्वान गर्ने सम्भावना रहेको स्रोतले बतायो । उनी संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार अघि बढ्ने गरी परामर्शमा छन् । नेकपा एमालेले भने उपधारा २ अनुसार अघि बढ्न सुझाव दिएकाे थियाे । प्रदेश प्रमुख पर्शुराम खापुङ पाँचथरबाट फर्किएर आज बिहान विराटनगर आइपुगेका छन् ।
अब वर्तमान मुख्यमन्त्रीलाई कायममुकायमकाे जिम्मेवारी दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरे केदार कार्की सर्वाेच्च जानेछन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरे असंवैधानिक हुने र त्यसका विरुद्ध आफू सर्वाेच्च अदालत जाने मुख्यमन्त्री केदार कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्