कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरु
२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए । कार्कीले दाबी पेस गरेको एक घण्टापछि प्रदेश प्रमुखले बोलाएर सनाखत सुरु गरेका हुन् ।
२७ असोजमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाखसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले २६ वैशाख राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्