४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार

सरकारले पुन : दोहोर्‍यायो काठ आयात प्रतिस्थापन गर्ने घोषणा

१ जेठ, काठमाडौं । सरकारले काष्ठ उद्योगमा आत्मनिर्भर बन्दै आयात प्रतिस्थापन गर्ने घोषणा पुनः दोहोर्‍याएको छ ।

आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

उनले नेपाली स्रोतको उपयोगलाई प्राथमिकता दिएर काठ आयात प्रतिस्स्थापन गरिने बताए ।

सरकारले हरेक वर्ष उही प्रकारको घोषणा गर्दै आए पनि व्यवहारमा भने कार्यान्वयन गर्न सकेको छैन ।

चालु आवको नीति तथा कार्यक्रममा पनि वनको उचित व्यवस्थापन गरी काठमा मुलुकलाई आत्मनिर्भर बनाइने भन्ने उल्लेख थियो ।

चालु आर्थिक वर्षको बजेटमा पनि यससम्बन्धी व्यवस्था गरिएको छ । त्यसअघिका बजेट तथा नीति–कार्यक्रममा पनि यस्तो घोषणा गरिएको थियो ।

तीनै तहका सरकारको सरकारको समन्वयमा समुदायको सहभागितासहित वनको संरक्षण, व्यवस्थापन र संवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो । सोही प्रकारको घोषणा यस पटक पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

चालु आवको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापनमार्फत काष्ठ र गैरकाष्ठ वन पैदावारको उत्पादन, विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिनेछ । वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ ।

निजी वनको प्रवर्द्धनका लागि लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिने पनि घोषणा गरिएको थियो । वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने पनि उल्लेख थियो ।

काठ तथा अन्य वन पैदावारको आयातलाई निरुत्साहित गरिने तथा ढलापडा रुखहरू आवश्यक प्रक्रिया पूरा गरी आगामी दुई वर्षभित्र बिक्री वितरण गरिने उल्लेख थियो ।

राष्ट्रपति पौडेलले चुरे क्षेत्रमा १० वटा जलाशय बनाउने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्