४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता देखाएको आरोप

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको बताएका छन् ।
बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रश्तुत भएर उदण्डता देखाएको बताएका हुन् ।

उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए । उनले नेपाली कांग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गरे ।

उनले कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनी प्रश्न समेत गरे । उनले नेपाली काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको बताए । उनले भ्रष्टाचारमा दोषि करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानबिन गर्न समिति गठन गर भनी नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने बताए ।

उनले भने, ‘यस्तो अवस्थामा एउटा पार्टीको संकिर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छा अनुसार मात्रै संसद चल्ने ? सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न दिन नपाइने । यति अशिष्ट ढंगले । सभामुखले मैले तपाईलाई समय दिएँ भन्दा तपाईको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसदमा । सभामुखसँगको के भाषा हो नेपाली काँग्रेसको ? सभामुखसँग त्यस्तो भाषाले प्रश्तुत भएर यो संसद चलाउने खोजेको हो नेपाली काँग्रेसले ? काँग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि बहुदलीय व्यवस्था चलाउन खोज्छ ? भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा त्यो कुरा नेपाली कांग्रेस बुझ्छ कि बुझ्दैन ?’

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए । उनले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताए । उनले आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने बताए ।

‘रविको कमी कमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने ? कसैले केही कारबाही थालेको छैन आफैँ सबकुछ गर्ने नेपाली कांग्रेस । जसको बारेमा पनि जे पनि बोल्दिने । काँग्रेसको आग्रहपूर्ण, द्धेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी छैन । संसद रोक्नुपर्ने आवश्यकता पनि छैन । कांँग्रेसले रोकेर अब मान्ने कुरापनि हुँदैन ।’ उनले भने ।

उनले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी नभएको बताए । उनले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै कांग्रेसले बैठक रोके नमान्ने पनि बताए ।

‘काँग्रेसको कुण्ठा, आक्रोश ? सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने ? काँग्रेसको घरबाट ल्याउको संसद हो यो ? उसलाई जसो मन लाग्छ त्यसै गर्ने । भोलिबाट काँग्रेस बोल्ने अरु नबोल्ने । काँग्रेसलाई नारा लगाउन आउने, अरुले नजानेको जस्तो चल्दैन भोलिबाट ।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गरे । कांग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्