४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

श्रीलङ्काबाट उद्धार गरिएकामध्ये एकले खुलाए बेचबिखनमा संलग्नको पहिचान

२ जेठ, काठमाडौँ । माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड -१९ को बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन् ।

उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताए । कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन् ।

“एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पु-याएको नामसहित मुख खोल्नुभएको छ”, उनले भने, “प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।”

उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताए । जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाए । मङ्गलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उनले जानकारी दिए ।

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो ।

“विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्”, उनले भने, “कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ । न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।”

प्रतिक्रिया दिनुहोस्