४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

कांग्रेस सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै

४ जेठ , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए ।

‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ ।

संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

लेखकले भने सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

संसदीय दलको बैठकले गरेका निर्णयहरु

ज्ञ। लाखौं नेपाली नागरिकले सहकारी संस्थामा वचत गरेको अरबौं रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ ।

सहकारीका वचतकर्ताहरुले राखेको रकमको सुरक्षाको ग्यारेण्टी गर्न, वचत हिनामिना भई पिडित भएका वचतकर्ताहरुको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानविन गरी कारवाही गर्ने सुनश्चितताको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरुले उठाई रहेका छन् ।

यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदैआएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।

नेपाल सरकार सहकारी ठगीबाट पिडित भएका नागरिक प्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।

घ। प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अबरुद्ध भएको मानिन्छ ।

सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत वैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ ।

तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनु पर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्