पर्यटक लोभ्याउँदै मकवानपुरको मोहिनी झरना (तस्विरहरु)
६ जेठ, काठमाडौं । अग्लो पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ मोहिनी झरना । झरनासँगैको हरियाली रमणीय दृश्यमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् कति आनन्द लाग्दो हो ।
यस्तोखाले आकर्षण भएको झरना मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ मोहनीमा पर्दछ। त्यसैलाई यो झरनालाई मोहिनी झरना भनिन्छ ।
पर्यटकीय आकर्षण र सम्भावना बोकेको यो झरनाले हिजोआज पर्यटकहरुको ध्यान तानेको छ । यहाँ झरना हेर्नकै लागि दैनिक ५सयदेखि ६ सय जना पर्यटकहरू आउने गरेको वडाअध्यक्ष सुवास थापा मगर बताउँछन् ।
उनी भन्छन्, ‘ हामीले मोहिनी झरनालाई संरक्षण र संवर्द्धन गर्दै आएका छौं। यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको छ । यहाँ दैनिक ५सय देखि ६ सयको बीचमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछ ।’
निकै आकर्षक, सुन्दर र मनमोहक झरना पहाडको माथिबाट कलकल गर्दै बग्छ ।
मोहिनी झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा पर्न थालेको छ । कुलेखानी जलविद्युत परियोजनाबाट करिब करिब ३ किलोमिटर पहाडी सडक भएकाले झरनामा प्रायः पर्यटकहरु सवारीसाधन रोकेरै जाने गरेका छन् । पहिलेको समयदेखि नै प्राकृतिक रुपमा रहेको यस झरना कञ्चन र सफा छ ।
पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु मोहिनी झरनामा जान्छन् ।
आफ्नो आँखै अगाडिबाट झरनालाई नियाल्न पाइने र मोबाइलमा सेल्फी फोटो तथा भिडियो खिच्न मिल्ने भएको हुँदा पर्यटकका साथै किशोरावस्थाका युवायुवतीहरु झरनामा पुगेर मज्जाले रमाउने गरेका छन् ।
अग्लो तथा भिरालो पहाडको टुप्पोबाट एकनासले तल जमिनतिर खसिरहने झरना हेर्दा आनन्द आउने पर्यटकहरुसँग अनुभव छ ।
मिहिनी झरनाले इन्द्रसरोबर गाउँपालिकाकै शान बढाएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी बताउँछन् । उनी भन्छन्, ‘ पहिला कुलेखानी, इन्द्रसरोबर ताल मात्रै यहाँ परिचय थियो। तर पछिल्लो समय मोहिनी झरनाले सबैलाई मोहिनी लगाउँदै आफ्नो परिचय आफै दिइरहेकी छिन्। यझ झरनाले गत केही वर्षयता आन्तरिक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुँदै जान थालेको छ ।’
झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको सर्लाहीबाट घुम्न आएका ४८ वर्षीय ध्रुव भट्टराई बताउँछन् ।
उनी भन्छन्, ‘ झरनाले साच्चै नै मोहनी लगाउने खालको रहेछ। त्यसकारण हामी त सर्लाहीबाट परिवारसहित हेर्न आएका हौं । यहाँ घुम्न पाउँदा आनन्द अनुभूति भयो ।’
इन्द्रसरोबरको प्रमुख पर्यटकीय गन्तव्य मानिने मोहिनी झरनाको लम्बाइ मात्र झण्डै ३ सय मिटरभन्दा बढी रहेको छ । प्राकृतिक रुपमा उत्पत्ति भएको यस झरनाको मुख्य मुहान थाहा नगरपालिकामा गोरखर्क भन्ने ठाउँमा पर्दछ ।
पर्यटकीय सम्भावना बोकेको मोहिनी झरनाको पर्यटन पवर्द्धनका लागि अन्नपूर्ण गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष पुडासैनीको भनाइ छ ।
वर्षातको समयमा ठूलो हुने झरना गर्मीयाममा भने केही सानो स्वरुपमा परिवर्तन हुन्छ ।
यहाँ रहेका पर्यटकीय झरना, तालतलैया र धार्मिक स्थलहरुको विकास गर्न सकेमा धेरैभन्दा धेरै पर्यटकहरुलाई मकवानपुरमा भित्र्याउन सकिने प्रशस्तै सम्भावना देखिन्छ ।
हेर्नुहोस तस्विरहरु
प्रतिक्रिया दिनुहोस्