३ आश्विन २०८१, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

हुम्लामा जिल्ला अस्पताल औषधि अभाव

७ जेठ , हुम्ला । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ ।

रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गरे ।

बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधि निजी मेडिकलबाट किन्नु परेको उनले बताए । रु चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे ।

अस्पतालको औषधि वितरण कक्षमा जाँदा औषधि नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका–२ ठेहेका झप्रि सुनारले बताएका छन् । निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ ।

वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताए । उनको अनुसार आइतबार र सोमबार मात्रै ८०-८० जनाले सेवा लिएका छन् ।

अन्य दिनमा ५० जना भन्दा कम नहुने डा सिंहले जानकारी दिए । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ । गाउँघरबाट एक/दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए ।

डा सिंहले भने, “अस्पतालमा औषधिको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टि रोक्ने औषधि नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधि अभाव रहेको उनले बताए ।

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे। हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको उनले जानकारी दिए ।

अबको एक/दुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्