५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

संसदलाई ब्यारेक बनाइएको नेपाली काँग्रेसको आरोप

८ जेठ , काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली काँग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेसका सांसदहरुले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन् । उनीहरुले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गर्नुभएको पनि बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मुलभुत मुल्य र मान्यतामाथि प्रहार गरिएको बताए । उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे ।

उनले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरुको अवरोध जारी रहने पनि बताए ।

सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताए।

उनले भने –‘संसदलाई ब्यारेक बनाउनका लागि सत्ताले बाटो लिइसकेको हामीलाई महशुस भएको छ । सदन विचार र सिद्धान्तकै द्वन्दात्मक थलो हो । तर यसलाई बाहुबलको थलो बनाउने, बल प्रयोग गर्ने कुराले लोकतन्त्रका मुलभुत मूल्य र मान्यतामाथि प्रहार गरेको छ ।

यो व्यवस्था र संविधानमाथि नै प्रश्नचिन्ह लगाउने, एउटा सहकारी ठगलाई जोगाउनका लागि लोकतन्त्रको मूल्य, मान्यतामाथि धावा बोल्ने । हाम्रो संविधानमाथि धावा बोल्ने र हाम्रो संघीय शासन प्रणालीमाथि धावा बोल्ने काम सत्ताबाट जुन भएको छ, त्यो भत्र्सनायोग्य छ ।

यसको हामी आगामी दिनमा थप प्रतिरोध गरेर जान्छौँ । हाम्रो प्रतिरोध विचारकै आधारमा, सिद्धान्तकै आधारमा, सभ्यतामा आधारित नै हुन्छ । तर त्यसलाई कमजोरी ठान्दै सरकार अगाडी बढ्यो भने हामीले इटको जवाफ पत्थरले दिनुपर्ने हुनसक्छ ।

म सरकारलाई सचेत गराउन चाहन्छु । हाम्रो अवरोध सहकारी पीडितले न्याय नपाएसम्म, सहकारीका बचतकर्ताहरुले वचत फिर्ता पाउने सुनिश्चितता नभएसम्म, संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म हाम्रो सदन भित्रको कारबाही निरन्तर रहन्छ ।

राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता दिनेगरी त्यो विधेयक फिर्ता गरिएको छ । यसबाट के बुझिन्छ भने नयाँ आएका राजनीतिक दलहरु राजनीतिक स्थिरता, सुशासन चाहान्छौँ भन्नेकुराबाट व्यक्तिगत रुपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी स्वतः च्युत भएको छ । यो कुराले उनीहरुको नियत के हो भन्नेकुरा पनि छर्लङ्ग भएको छ ।’

नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गर्नुभएको बताए।

उहाँले संसदीय छानविन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहनुभएको बताए। उनले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताएका छन् ।

उनले भने –‘संसद होइन ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा, संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती सञ्चालन गर्न खोजेका छन् । यो राम्रो बाटोमा गइराखेको छैन । हामी संसदीय समिति नबनेसम्म संसदलाई अगाडी जान दिने स्थितिमा छैनौँ ।

समिति बनाउने कुरामा, टिओआर बनाउने कुरामा अलमल गरेर केपी ओलीजीको पनि आफ्नो खेल छ । सरकार आफ्नो ढंगले अगाडी बढिरहेको छ । हामीलाई के लागिराखेको छ संसदीय परम्परामाथि नै कालो धब्बाको रुपमा उहाँहरुले सदनलाई लिएर गइराखेका छन् , यो दुर्भाग्यपूर्ण छ ।’

नेपाली काँग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताए । उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरु फुटाउनेतिर लाग्न लागेको आरोप लगाए ।

उनले भने –‘नयाँ पार्टी भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले संसदमा आएको विधेयक फिर्ता गरे । यो आपत्तिजनक छ । अब अध्यादेशबाट ल्याएर उनीहरु पार्टी फुटाउनेतिर लाग्दै छन् । यो घोर आपत्तिजनक छ । सभामुखको कामप्रति नै हाम्रो विरोध थियो ।’

नेपाली काँग्रेसकि सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेका बताए । उनले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरुमाथि आक्रमण गर्न लगाइएको बताए। उनले प्रधानमन्त्री स्वयं आफूहरुमाथि जाइलाग्न खोजेको आरोप पनि लगाए ।

उनले भने –‘मर्यादापालकहरु मर्यादामा रहेर सुरक्षा गर्ने न हो । तर मर्यादापालकहरुलाई प्रयोग गरेर, संख्या बढाएर हामीमाथि आक्रमण गर्न लगाएको छ । मलाई घाइते बनाएको छ । प्रमाण हेर्नुस्(आफ्नो हात देखाउँदै) । प्रधानमन्त्री आफैँ सिधै जाइलाग्न खोज्ने जस्तोपनि गरे ।

मर्यादापालकहरुलाई अगाडी राखेर हामीमाथि प्रहार भयो । हामीमाथि अत्याचार भइराखेको छ । जनताको आवाजलाई लिएर, जनताको न्यायको लागि हामी अगाडी बढ्दाखेरी हामीलाई दबाउने काम गरिएको छ । हाम्रो घाँटीमा निमोठ्ने काम गरिएको छ । तर हामी पछाडी पर्दैनौँ । दमन गरिराखेको छ ।’

नेपाली काँग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्