३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

मोरङमा पाँच सञ्चारकर्मी सम्मानित

१० जेठ, मोरङ। नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।

युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुब्बा, भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरूलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताए। आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त गरे ।

उनले सत्यको बाटो कठिन भए पनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरूलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न आग्रह गरे । डा कोइरालाले सहकारीको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई अविलम्ब कारबाही गरी बचत फिर्ता हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेसमाथि अङ्कुश भएको धारणा राखे । उनले युनियन सञ्चारकर्मीहरूको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्रस्थानमा उभिन्छ भन्दै युनियन स्वतन्त्र प्रेसको पक्ष र लोकतन्त्रको संरक्षणमा प्रतिबद्धत रहेको विचार राखे ।

युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्रीलगायतले स्वतन्त्र प्रेस युनियनको मूलमन्त्र भएको विचार राखे । सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरे ।

उक्त कोषबाट सञ्चारकर्मीको स्वास्थ्य बीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्तानुसारको आर्थिक सहयोगलगायत उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसअघि स्थापना दिवसका उपलक्ष्यमा आयोजित विराटनगरको महेन्द्र चोकबाट होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिमा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने महिलातर्फ इन्दु साह, माला पालुङवा, जानुका नेपाल र सुशीला पाठक क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भए । डा काइरालाले विजयी खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्