३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम

१४ जेठ, गण्डकी । विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।

प्राध्यापकहरूलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरूको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ ।

कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज जोनले प्राध्यापकहरू प्राध्यापनसँगै निरन्तर अनुसन्धानमा संलग्न हुनुपर्नेमा जोड दिए । वर्तमानमा अनुसन्धानात्मक लेखन र त्यसको प्रकाशनविना प्राध्यापकहरूको प्राज्ञिक उन्नति हुन नसक्ने उल्लेख गर्दै उनले प्राज्ञिक लेखन कार्यशाला अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।

विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मीले कार्यशालामा विभिन्न विज्ञहरूबाट प्राज्ञिक लेखन सम्बन्धमा महत्वपूर्ण जानकारीहरू प्रदान गरिने जानकारी दिए ।

एकाइका संयोजक चूडामणि कँडेल, प्राध्यापक सत्यराज सुवेदी, सह प्राडा काशिनाथ कण्डेल, अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा प्रकाश पौडेललगायतले कार्याशालाको महत्व लगायतमा बोलेका थिए ।

कार्यक्रम अन्तर्गत लघु अनुसन्धानको प्रस्तावना लेखन विषयक कार्यशालाको सहजीकरण जनता विद्यापीठ, दाङका अनुसन्धान व्यवस्थापन एकाइका संयोजक उप प्राडा खगेन्द्र घोडासैनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्