३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा‘नयाँ सहर आयोजना’का काम सुस्त

२० जेठ, बागलुङ । बागलुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम सुरु भएको नौ वर्ष भइसकेको छ । विसं २०७२ मा दश नमूना सहर बनाउने सरकारको योजनाअनुसार आर्थिक वर्ष २०७२/७३ देखि बजेट विनियोजन गरेर काम सुरु भएको थियो ।

बुर्तिबाङ बजारमा नयाँ सहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ सहर आयोजनाले सडकलाई व्यवस्थित बनाउन सकेको छैन ।

योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ । हरेक वर्ष करोडौँका बजेट यहाँ परे पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन सकेका छैनन् । पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको आयोजना कार्यालयले जनाएको छ ।

बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजनाका लागि करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयले गुनासो गरेका छन् ।

नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासी, आवश्यकता अनुसार उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजारलगायत पूर्वाधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयका लेखा प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।

सङ्घीय सरकारले हालसम्म उक्त आयोजनाका लागि रु ६७ करोड ३७ लाख ५४ हजार दुई सय १८ लगानी गरेको छ । गत आवमा मात्रै रु १८ करोड ३३ लाख ८७ हजार १६ विनियोजन भएको थियो । चालु आवमा रु सात करोड ३३ लाख विनियोजन भएर काम भइरहेको पौडेलले जानकारी दिए । हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयले जनाएको छ ।

आवश्यकता अनुसारको बजेट नआउँदा अपेक्षाअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले बताए । बजेट रकम घटबढ हुँदा अगाडि बढाइएका योजना सम्पन्न गर्न समस्या भएको उनको भनाइ छ ।

पौडेलका अनुसार २०७२ सालदेखि हालसम्म १७ किलोमिटर सडक ढलान, ६.२५ किमी नाली निर्माण, एउटा पाँचतले भवन, दुई सय ७२ वटा सौर्य बत्ती जडान र ५६ रोपनी जग्गा खरिद भएको छ । एउटा बसपार्क र पार्क निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । ‘ल्यान्डफिल्ड साइट’,हाट बजार, खेलमैदान, खानेपानी व्यवस्थापनलगायत महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको उनको भनाइ छ ।

“नयाँ सहर आयोजनाको कार्यालय स्थापना भएपछि सरकारले विनियोजन गरेको बजेटअनुसार सानाठूलो काम भइरहेका छन्, जति हुनुपथ्र्यो, बजेट अभावका कारण त्यति हुन नसकेको वास्तविक हो, हरेक वर्ष बजेटको आकार घटेर आउँछ, यसले गर्दा अघिल्लो वर्ष सुरु गरेका योजना सम्पन्न गर्नै गाह्रो हुन्छ, नयाँ आयोजनाका लागि बजेट नपुग्ने समस्याका कारण प्राथमिकताका क्षेत्र पहिचान गरी सोही आधारमा काम गरिरहेका छौँ”,आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले भने ।

आयोजनाको कार्यालय स्थापना भएर करोडौँ लगानी हुँदा पनि नागरिकले अनुभूति गर्ने विकास नभएको ढोरपाटन–१ का भीमबहादुर क्षेत्रीले बताए । आयोजनाले बुर्तिबाङ बजारलाई व्यवस्थित बनाउन नसकेको भन्दै सडकहरु साँघुरा हुँदा पैदल यात्रु तथा स्थानीय व्यापारीलाई दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

बजार क्षेत्रका चोक, फुटपाट तथा गल्लीहरु निकै जोखिमयुक्त रहेको भन्दै आयोजनाले बजारमा नयाँपन दिन नसकेको क्षेत्रीले बताए । सरोकार भएका निकाय तथा स्थानीय सरकारले प्रभावकारी कामका लागि आयोजना प्रमुख तथा अन्य प्रतिनिधिलाई दबाब दिनुपर्ने उनको भनाइ छ ।

“आयोजनाले प्रभावकारीरुपमा काम गनृ सकेको छैन । यहाँका पुरानै साँधुरा सडकमा बस पार्किङ हुन्छन्, साँघुरा सडकमा जोखिम मोलेर यात्रु हिँड्छन्, फोहर व्यवस्थापन हुन सकेको छैन,”क्षेत्रीले भने, “आयोजनाले कोही नपुग्ने कुत्थाप्लामा भवन बनाएको छ । प्रयोगमा कम आउने सडक ढलान गरेको छ । जुन उद्देश्यले आयोजना स्थापना भएको हो, त्योअनुसार काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्