यी हुन् किम्फ विजेता फिल्म
२१ जेठ , काठमाडौं । काठमाडौंमा आइतबार सम्पन्न २१ औं संस्करणको ‘काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिभल(किम्फ)’मा इन्टरनेसनल फिचर फिक्सन अन्तर्गत ‘अ चाइल्डलेस भिलेज’ र नेपाली पानोरामाअन्तर्गत ‘दुविधा’ र ‘नेपाली फिक्सन’ उत्कृष्ट भएका छन् ।
आइतबार साँझ सम्पन्न फेस्टिभलमा इन्टरनेसनल सर्ट फिक्सनतर्फ ‘एडजष्टमेन्ट’ विजेता हुँदा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ले ‘स्पेसल मेन्सन’ अवार्ड जिते ।
त्यस्तै इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता हुँदा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ले स्पेसल मेन्सन अवार्ड उचाले ।
फेस्टिभलमा फिचर डकुमेन्ट्रीतर्फ ‘रिओ रोजो’ ले जित्दा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्रुस्काः द ग्राण्ड ऐज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द नाइट’ले स्पेसल मेन्सन अवार्ड जिते ।
फेस्टिभलमा अडियन्स च्वाइस अवार्ड ‘म अलप हुन चाहन्छु’ले जित्यो । नेपाली पानोरामा अन्तर्गत ‘द मोंक एण्ड द रेबेल’ र ‘हावाम्यान’ले स्पेसल मेन्सन अवार्ड, नेपाली पानोरामा बेस्ट डकुमेन्ट्री अन्तर्गत ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ले स्पेसल मेन्सन अवार्ड जिते ।
फेस्टिभलमा अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरियो ।
नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपैंयाँ प्रदान गरियो ।
यसै गरी दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्यो ।
यसवर्ष किम्फको सुरुवात इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’बाट गरिएको थियो भने समापन निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’बाट गरियो ।
गत जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए ।
निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बत्स्की (स्वीट्जरल्यान्ड)ले यसपटकको निर्णायक थिए ।
प्रतिक्रिया दिनुहोस्