२ आश्विन २०८१, बुधबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

गाजाबाट चार इजरायली बन्धकहरुको उद्धार

२७ जेठ, काठमाडौँ । इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चार जना बन्धकहरूको सफलतापूर्वक उद्धार भएको घोषणा गरेको छ। हमास लडाकु समुहले अक्टोबर ७ मा ’नोभा’सङ्गीत महोत्सवमा चारै जनालाई बन्धक बनाएको थियो।

इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजा पट्टीमा जारी विशेष अपरेसनमा चारजनालाई फेला पारिएको बताएका हुन् ।

“आज बिहान (शनिबार) नुसिरातमा संयुक्त आईडीएफ, आइएसए र इजरायल पुलिस (यामाम)को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएको नोआ अर्गामानी , अल्मोग मीर जान , आन्द्रे कोज्लोभ र स्लोमी जिभ गरि चार इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई नुसिरातको दुईवटा छुट्टै स्थानबाट उद्धार गरिएको थियो”, विज्ञप्तिमा जानकारी गराइएको छ।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त विज्ञप्तीलाई पुष्टि गर्दै सबै बन्धकहरु सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ । “उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ’सेबा’तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ। चारजनालाई हमास लडाकु सङ्गठनले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवबाट उनीहरुलाई अपहरण गरेको थियो“,मन्त्रालयले जानकारी गराएको छ ।

अक्टोबर ७ देखि गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३६ हजार ८०१ प्यालेस्टिनी मारिएका र ८३ हजार ६८० घाइते भएको र पछिल्लो २४ घण्टामा ७० जना प्यालेस्टिनी मारिएको र १ सय ५० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्