४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन

२८ जेठ, काठमाडौँ । सङ्घीय प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले आज छलफल गरेको थियो । आजको छलफल तथा बैठकमा बेरुजु फर्छ्यौट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

“देशमा बेरुजु क्रमशः बढोत्तरी हुँदै गइरहेको छ भने आर्थिक वर्ष २०५९/६० सम्मका बेरुजुको लगतकट्टा तथा सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने काम अझै बाँकी रहनुले हाम्रो विगत, वर्तमानको आर्थिक सुशासन र वित्तीय अनुशासनको अवस्था चित्रित गर्दछ”,सभापति पोखरेलले भने, “पुराना असुलउपर गर्नुपर्ने बेरुजुलाई निश्चित समयभित्रै फर्छ्यौट नगरे आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित छ ।”

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यकपर्ने जनशक्ति थप गरी तत्काल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न/गराउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट समितिको सचिवालयको रुपमासमेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो । असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय भाडामा रहेकोले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ । कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दासमेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटी रहेको भन्ने विषयमा दुईवटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्