२३ भाद्र २०८१, आईतवार
अन्तर्वार्ता मुख्‍य समाचार

हामीले क्रिकेट संघमा पारदर्शिता र अनुशासन चाहेका हौं : विप्लव घोष

अन्तरवार्ता

३० जेठ , काठमाडौँ । सुनसरीका विप्लव घोष करातेका पूर्वखेलाडी हुन् । नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा सक्रिय उनी पछिल्लो समय एक दिवसीय क्रिकेट प्रतियोगिताहरुको आयोजना गरेर बढी चर्चामा छन् । नेपाल खेलकुद महासंघको सचिवसमेत रहेका उनले नेपाल क्रिकेट संघ(क्यान) भित्र देखिएको बेथितिविरुद्ध आवाज उठाउँदै आएका छन् । साथै खेलकुद क्षेत्रलाई बजेट विनियोजनमा सरकारले उपेक्षा गरेकोप्रति आपत्ति पनि प्रकट गरिरहेका छन् । सचिव घोषसँग नेपाली खेलकुदको विकास, क्यानभित्र देखिएको विवाद र भावी रणनीतिका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

नेपालको समग्र खेलकुदको अवस्थालाई कसरी नियालिरहनुभएको छ ?

एक खेलप्रेमीका रुपमा समग्रमा नेपालको खेलकुद अवस्थालाई हेर्दा कोरोनापछिका वर्षहरुमा धमाधम बजेट कटौती भइरहेको छ । खेलकुद क्षेत्रमा सरकारले बजेट विनियोजन गर्दा थोरैथोरै गरेर कटौती गर्दै आइरहेको छ । यसपाली त एकमुष्ट बजेट नै कम आएको छ । त्यसबाट क्रिकेट क्षेत्रलाई कति आउँछ भनेर हामी पर्खिरहेका छौं ।

समग्रमा जिल्लादेखि केन्द्रीय तहसम्मको खेलकुदको संरचना, प्रशिक्षण तथा खेल तालिका र तयारी लगायतलाई हेर्ने हो भने सन्तोषजक छैन । संघ र संस्थाहरुले प्रायोजक खोज्न सकिरहेका छैनन् । प्रायोजकहरु पाइहाले पनि ती केन्द्र केन्द्रीत हुन्छन् । विकेन्द्रीकरण नहुँदा तलका खेलाडीहरु बाध्य भएर विदेश पलायन हुनुपर्ने अवस्था छ । खेल खेलेरै खेलाडीहरुले जीविकोपार्जन गर्ने अवस्था देखिँदैन । हालको बजेटले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन । खेलाडीहरुलाई जीविकोपार्जन गर्न नै कठिन छ । कर्पोरेट हाउसहरुले केन्द्रदेखि तल्लो तहसम्मका खेल र खेलकुद क्षेत्रलाई प्रायोजन नगर्ने हो भने खेलको माध्यमबाट खेलाडीको जीविकोपार्जन, खेल विकास र व्यवस्थापन गर्न गाह्रो छ ।

सबै खेलका लागि खेलाडी छनोट पारदर्शी नहुँदा ग्रामीण तहमा रहेका प्रतिभाहरु ओझेलमा परेको गुनासो छ । पहुँच र पावरका भरमा खेलाडी टीममा समावेश गर्ने परिपाटी छ भनिन्छ । वास्तवमा अवस्था यस्तै हो ?

होला कहींकतै खेलाडी छनोट प्रक्रिया पारदर्शी भएन होला । अनियमितता भयो होला । तर, सबै ठाउँमा यस्तो छैन । छनोट प्रक्रिया पारदर्शी नै छ । कतै खेलाडी छनोट गर्दा भावनात्मक हुने, कहीं पक्षविपक्ष भनेर मापन गरी छनोट गरिएको पनि छ । यो सबै हुनुको पछाडि खेलाडी छनोट गर्ने मापदण्ड स्पष्ट नहुनु हो । यसले खेलाडीको स्तर र खेललाई प्रभाव पारिरहेको छ । जिल्लामा खेलाडी छनोट गर्ने मान्छे कस्ता छन् र कस्ता खेलाडी छानिएर आए भन्ने कुरा खेलाडीको प्रस्तुतिबाटै स्पष्ट हुन्छ । यद्यपि, तल्लो तहमा खेलाडी छनोट गर्न प्राविधिक कठिनाइहरु पनि प्रशस्त छन् । दलीय प्रभाव पनि छ । आरोप प्रत्यारोप पनि छ ।

क्रिकेटमा वान डे (एक दिवसीय) प्रतियोगिताले खेलाडीलाई प्रोत्साहित गर्न र छनोटका लागि कस्तो भूमिका खेलेको छ ?

मेरै अगुवाइमा सुरुमा मनमोहन कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसबेला नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेकाले ठूलो कठिनाइ व्यहोर्नुपर्यो । हामीले त्यतिबेला सात प्रदेश, तीन विभागीय टोली, एउटा बिहार राज्यको टोली पनि सामेल गराएर प्रतियोगिता सम्पन्न गराएका थियौं । त्यतिबेला आर्थिक चुनौती निकै ठूलो भोग्नुपरेको थियो । त्यसपछि नै हो क्रिकेटलाई व्यवसायिकभन्दा पनि विकास र विस्तार गर्नुपर्छ भनेर अगाडि बढेको । त्यतिबेला वान डे प्रतियोगिता नहुने भएकाले वान डे मान्यता दिनुपर्छ भनेर प्रतियोगितालाई सफल बनाएका थियौं । प्रतियोगितामार्फत खेलाडीका लागि राष्ट्रिय टिममा आउने माध्यम बनेको थियो । दोस्रो चोटि पनि मलेसियाको राष्ट्रिय टोलीलाई हामीले ल्याएर खेलाएका थियौं । त्यो कार्यक्रम पनि खेलाडीहरुलाई राष्ट्रिय टिममा प्रवेश गर्ने ढोका जस्तै बनेको थियो । तर, अहिले क्यानले पनि एक दिवसीय प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन । यस्तो प्रतियोगिता महत्वपूर्ण हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

यतिबेला टी–२० विश्वकप क्रिकेटको माहोल छ । नेपालले एक दशकको पर्खाइपछि दोस्रो पटक विश्वकप खेल्दैछ । यसैबीचमा सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिँदा क्यान आलोचित छ । तपाईहरुले त पत्रकार सम्मेलन नै गरेर क्यान नेतृत्वमाथि गम्भीर आरोपहरु लगाउनु भएको छ नि ? 

पत्रकार सम्मेलन मात्र होइन खेलकुदमन्त्रीलाई ज्ञापनपत्र नै बुझाइसकेका छौं । सन्दीप लामिछानेका विषयलाई लिएर क्यानले गम्भीर लापरवाही ग¥योे । म यहाँ सोध्न चाहन्छु जिम्मेवार तहमा बसेका अध्यक्षले सन्दीपको विषयलाई लिएर के पहल गरे ? उनलाई टोलीमा राख्न कसरत गर्नुभन्दा आफ्ना आसेपासेलाई लिएर अमेरिका उडेका हैनन् ? क्यानका अन्य केही पदाधिकारीले पहल गरे होलान तर अध्यक्षको भूमिका के ? उहाँमाथि नैतिकताको गम्भीर प्रश्न छ । यस्तो गैरजिम्मेवार बन्न मिल्दैन ।

भिसा नदिनु अमेरिकाको आफ्नो कूटनीतिक सवाल होला तर तपाईं क्यानका पदाधिकारीहरुमाथि खनिनुभएको छ । अध्यक्ष र सचिवको मिलेमतोमा सन्दीपलाई १५ सदस्य टोलीमा सामेल नगरेको भनेर किटान नै गरिरहनुभएको छ । त्यसको आधार के हो ?

स्पष्ट छ, क्यानका अन्य पदाधिकारीलाई अध्यक्षले नै गुमराहमा राखिरहेका छन् । अध्यक्षपछि मर्यादाक्रमले जिम्मेवार पदमा रहेका उपाध्यक्ष गुमराहमा छन् भन्ने लाग्छ । अध्यक्ष नेपालमा थिएनन् तर उपाध्यक्ष त थिए नि । उनको भूमिका के हो त ? सन्दीपको विषयमा उपाध्यक्षले खोइ बोलेको ? उहाँको पहलकदमी पनि केही देखिएन, उहाँको भूमिका पनि यहाँ शंकास्पद देखिन्छ । क्यानका सचिवलाई नै दबाबमा पारेर निर्णयहरु भएको हो कि भन्ने मलाई लागेको हो ।

तपाई आबद्ध खेलकुद महासंघले आइसीसीले क्यानलाई दिएको पाँच लाख डलर सहयोग र सरकारले राष्ट्रिय टोलीलाई विनियोजन गरेको पाँच करोड पारदर्शी नभएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभयो । त्यस विषयमा क्यानले समय आएपछि सार्वजनिक गर्ला नि, किन हतारिनुभएको ?

हाल प्राप्त भएको पैसाको प्रयोगका सवाल शंकास्पद छ । पारदर्शिताको लागि छानबिन गर्नुपर्छ । आइसीसीले नेपाललाई मात्र नभएर ग्रेड हेरेर सहभागी अन्य टीमलाई पनि वल्र्डकपको तयारीका लागि सहयोग उपलब्ध गराउने गर्छ । क्यानका व्यक्तिहरुमा लोभ पहिला पनि थियो, अहिले पनि छ । त्यो पैसा दुरुपयोग नहोस् भन्ने हाम्रो माग हो । २५ सदस्यीय नेपाली खेलाडी र व्यवस्थापकीय टोलीमध्ये एक जना चिकित्सक लैजान पाउने प्रावधान छ तर संघको अध्यक्षले डाक्टरको कोटामा अमेरिका जानुपर्ने थियो र ? उहाँलाई त्यसैपनि निम्ता आइहाल्थ्यो नि । चतुरबहादुर चन्द जानुभयो भन्नेमा बहस होइन तर अभिभावकीय जिम्मेवारीमा बसेको मान्छेले डाक्टरको कोटामा जानु कति सान्दर्भिक होला तपाई आफैं सोच्नुहोस न । टिममा एक जना डाक्टर अनिवार्य हो । तर उहाँले अन्य थुप्रै मान्छेलाई लानुभयो तर डाक्टर समावेश नगरिनु शंकास्पद छैन र ? भत्ताको लोभमा त्यसो गरिएको हो कि अन्य के कारण छ ? हामीले जवाफ खोजेका हौं ।

हुन त क्यानका केही मान्छेको नियत एकदमै लोभी छ । अरु त अरु अमेरिकामा नेपाली जर्सी क्यानकै सदस्यको मिलेमतोमा कालोबजारीका रुपमा बिक्री भइरहेको भन्ने कुरा बाहिर आएको छ । तथ्य मसँग छ । जर्सीमै प्रायोजन गर्ने कम्पनीले त्यो गरेको भए पनि सुहाउथ्यो होला तर क्यानले गर्नु गलत हो । सत्यतथ्य छानबिन हुनुपर्यो । पटक पटक नेपाली क्रिकेट समर्थक, खेलकुद संघ, मन्त्रालय, परिषद्देखि लिएर क्यानका कार्यकारी सदस्यहरुलाई समेत यहाँ गुमराहमा राखिएको छ । यस्ता विषयले शंका जन्माएको छ । क्यानले आरोप लागेपछि पुष्टि गर्नुपर्छ । त्यही भएर छानबिनको माग गरेका हौं । निकटका मान्छेहरुलाई लिएर जानुको कारणबारे छानबिन हुनुपर्छ । किन पनि भने खेल क्षेत्रमा बजेट न्यून छ । क्रिकेटमा सरकारले दिएको बजेटले अन्य खेल र खेलाडीलाई त्यो पनि तल्लो तहमा पुग्न सक्ने बजेट कटौती भएको छ । यस्तो बेलामा मनलाग्दी गर्न कसैले पनि मिल्दैन । पारदर्शिता हुनुपर्छ ।

अमेरिकामा ८० डलर पर्ने टिकटलाई १३५ डलरमा क्यानले बेच्यो भनेर तपाईंले अर्को पनि आरोप लगाउनु भएको छ । प्रमाण के छ ?

क्रिकेटकै समर्थकहरुले सोसल मिडियामा त्यो विषय प्रश्न उठाइरहनु भएको छ ।  त्यसको आधारमा मैंले भनेको हो । र वास्तविकतामा त्यो भइरहेको पनि छ । मेरा निकट मित्रहरुसँग बुझ्दा उनीहरुले त्यो पुष्टि गरेका छन् । अस्ति अमेरिकामा अध्यक्षज्युले बोल्दै गर्दा खैलाबैला भएको थियो । त्यही टिकटको विषयलाइ लिएर भएको हो भन्ने कुरा आएको छ । त्यसको त भिडियो नै सार्वजनिक भएको छ ।

तपाईंले अर्को पनि आरोप लगाउनुभएछ ।  प्रधानमन्त्री कार्यालयको लेटरप्याड नै दुरुपयोग गरेको पनि भन्नुभएछ । जति पनि विषयमा बोल्नुभएको छ क्यानप्रति आरोपै मात्र लगाउनुभएको छ । यसलाई पुष्टि गर्ने आधार के हो ? क्यानका सचिवले विज्ञप्तिमार्फत क्यानप्रति भ्रम फैलाउनेलाई कानुनी कारबाहीमा जाने चेतावनी दिइसक्नु भएको छ । यसमा तपाईंको धारणा के हो ?

मानव तस्करीको आशंका थियो नि त्यो त पुष्टि भइसक्यो । मसँग प्रशस्त प्रमाणहरु छन् । तीन जना कर्मचारीलाई पदबाट हटाइएको कुरा झन ठूलो आधार प्रमाण हो । त्यसमा पनि क्यानका केही व्यक्तिहरुको संलग्नता छ । यसमा के बुझ्नुपर्छ भने संघको मुख्य व्यक्ति नै अध्यक्ष हुन्छ । अध्यक्षलाई नै पहिला शंका गरिन्छ । उनैमाथि प्रश्न पनि गरिन्छ । किनभने अध्यक्षको निर्देशनविना कुनै पनि कार्य हुँदैन । यसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी र सदस्यहरुको भूमिका पनि शंकास्पद देखिन्छ । उहाँहरुले किन बोल्न सकिरहनु भएको छैन ? संस्थाकै सदस्यले मिडियामा बोलिरहनुभएको छ । उहाँले बोलेपछि त आधिकारिक हुन्छ नि ।

तपाई र तपाई आबद्ध संस्था एमाले निकट भनेर चिनिन्छ । क्यानका अध्यक्ष कांग्रेस निकट भनेर चिनिनुहुन्छ । त्यसकारण तपाईले लगाइरहेका आरोपहरु जति पनि ती सबै क्रिकेटलाई राजनीतिकरण गर्ने खेल त होइन ? कांग्रेस–एमालेबीचको द्धन्द्ध त होइन ?

गलत कामलाई खेदो गरिन्छ । गर्नु पनि पर्छ । यसलाई राजनीतिक हिसाबले गरेको भनेर बुझ्न हुँदैन । खेलकुद महासंघले विगतका दिनमा क्यानको प्रतियोगिता र अध्यक्षज्यूको कार्यकाल सफल बनाउनलाई हाम्रो केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले प्रशस्त सहयोग गर्नुभएको छ । खेलाडीलाई सम्मान गर्नुपर्छ भनेर महासंघको तर्फबाट स्कुटी प्रदान गर्नुभएको छ । हिजोको दिनमा क्रिकेट संघभित्र केही गलत भएको खण्डमा हामीले उहाँहरुलाई हातेमालो गरेर गलत भएकामा सुधार गर्नुहोस् भनेर परामर्श दिएका पनि छौं । हामीहरु हिजो एउटै थलोमा बसेर काम गरेका हौं । अघिल्लो कार्यकाल पनि सहयोग गरेकै हो । तर आज हामी विकृति र बेथितिको विरुद्ध बोल्दा हामी अन्य पार्टीको भयौं ? राजनीति नै गर्नु थियो भने त उहाँले एमालेलाई ढोका लगाइदे भनेर क्यानकै जिम्मेवार व्यक्तिलाई भन्नुभएको होइन ? हामी क्यानमा जाँदा ढोका नै लगाउन भन्नुभएको कुरा सुुनिराखेका थियौं तर, केही बोलेनौं ।

राजनीति भनेको सम्पूर्ण खेल क्षेत्र र खेलाडीको उन्नति प्रगतिका लागि गर्नुपर्छ । दलको संगठनका लागि होइन भनेर लागेका छौं । हिजो उहाँसँग हातेमालो गरेकै हौं, क्यानका धेरै प्रतियोगिताहरुमा सहकार्य गरेका छौं । राजनीतिकर्मीको स्टन्टबाजी त उहाँले गरिरहनुभएको छ । मनिसलाई भ्रमित पारिरहनु भएको कुरा उहाँकै संस्थाका पदाधिकारीले समेत भनिरहनुभएको छ ।

फेरि सन्दीपकै प्रसंग जोडौं, भिसाका लागि त क्यानको अगुवाइमा अमेरिकालाई सरकारले कूननीतिक नोट नै पठाएको चर्चा थियो । क्यानले पहल नगरेको त होइन नि ?

अझै पनि उहाँहरु भ्रमित पार्दै नै हुनुहुन्छ  । मुख्य मुद्दा हाम्रो सन्दीप लामिछानेको पनि हो । साथै क्यानमा भएको आर्थिक अनियमितता र विकृतिप्रति हो । हाम्रै दबाबले क्यानले सन्दीपलाई वेस्ट इण्डिज त पठायो नि । हिजो चुप बसेका सन्दीप त्यहाँ पुगेर स्टाटस लेखे । त्यहाँभित्र लेखिएको कुरा पनि उनलाई दबाब दिएर लेख्न लगाइएको हो । व्यक्ति तोकेर जसरी लामिछानेले लेख्नुभएको छ, यसमा उनीमाथि दबाब दिइएको हो कि भन्ने मलाई लागेको छ ।

खेलाउँदा पनि विवाद, नखेलाउँदा पनि विवाद गर्यो भन्नुहोला तर हिजोको दिनमा प्रतिश जीसीलाई किन टिममा राखियो र फेरि के आधारमा टिमबाट बाहिर राख्ने भनियो ? जिल्ला स्तरको खेल गराउँदा त खेलाडीलाई बाहिर राख्नुपर्यो भने मेडिकल रिपोर्ट मागिन्छ भने जीसीले पनि धेरै खेल खेलिसकेका छन् उनको ठाउँमा सन्दीपलाई रिप्लेस किन गरियो त ? हिजो त टिममा नाम राख्ने अवसर हुँदा पनि २५ जनाको टोलीमा समावेश नगरेको हो नि क्यानले । यस्ता यस्ता कुरामा भ्रम फैलाउने कुरा भएका छन् यो गम्भीर विषय हो ।

टी–२० क्रिकेटमा नेपालले नेदरल्याण्डससँगको खेलमा अपेक्षित नतिजा निकाल्न सकेन । यसलाई कुन रुपमा हेर्नुभएको छ ? यसलाई पनि क्यानकै कमजोरी भन्ने कि ?

नेपालले सोचेअनुरुप नतिजा निकाल्न नसक्नुमा धेरे कुरा छन् । सन्दीप लामिछाने, जो नेपालका मुख्य खेलाडी हुन्, उनी नै थिएनन् । तपाईले क्रिकेट हेर्नुहुन्छ भने आईसीसीले नै एक जनालाई गेम चेन्जर भनेको छ । हो त्यस्तै गेम चेन्जर हुन् सन्दीप । हुन त हाम्रा सबै खेलाडीहरु दक्ष र अब्बल छन् । तर सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव र क्षमता अलि फरक छ । उनी टिममा हुँदा विपक्षी टोलीलाई दबाब पर्छ । त्यसमा पनि नेपाली खेलाडीलाई निरन्तर अभ्यास गराउनुभन्दा रेस्टुराँमा राखेर ‘ग्रिट एण्ड मिट’मा सहभागी गराएर फोटो खिचाएको देखियो । त्यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको समेतको उपस्थिति थियो भन्ने समाचारमा आइरहेको छ । एउटा भिडियो नै सार्वजनिक भएको छ ।

अर्को कुरा अमेरिकाका पिचहरुको कण्डिसन पनि त्यस्तै छ । धेरै टिमहरुले रन पनि बनाउन सकिरहेका छैनन् । भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका हस्तीहरुको खेल पनि न्यून स्कोरवाला नै भयो । नयाँ पिचहरु भएका कारण हो कि के हो, यस्तै भइरहेको छ । हाम्रा खेलाडीका लागि त झन नौलो ठाउँ । विश्वकपमा दोस्रो सहभागिता भएका कारण पनि दबाबमा खेल्नुपरेको छ । विश्वकपको अनुभव भएका सोमपाल कामीबाहेक कोही पनि छैनन् ।

अभ्यास पनि गराइएन । एक महिना अघि अमेरिका गएका होइनन् ? नेपाल सरकारले दिएको पाँच करोड, आईसीसीले दिएको पाँच लाख अमेरिक डलर ले के गरे ? यही छानबिन गर्नुपर्ने माग त हामीले अघि सारेको हो नि । यहाँ क्यानले आयोजना भएका अन्य प्रतियोगितामा उठेको फण्डको के भयो ? धेरै नै अनियमिता भएको छ । कति कुरा गर्नु । यो कार्यकाल मात्र नभएर यो भन्दा अगाडिको कार्यकालको पनि छानबिन गर्नुपर्छ । दोषी जो भए पनि आवश्यक कारबाही गर्नुपर्छ । पछिल्लो समय अध्यक्षज्यूको स्टेटमेन्टकै आधारमा पनि उहाँ दोषी देख्छु । उहाँ त शिक्षक हो भन्ने थाहा थियो । अहिले टोलीसँग त उहाँ चिकित्सक भएर जानुभएको छ । उहाँले कहिले डाक्टरी गर्नुभयो ? एउटा जिम्मेवार मान्छेले त्यस्तो गरेर हुन्छ भन्या ? क्रिकेटमा धेरै विकृतिहरु बढेका छन् । मिडियाहरुले पनि उजागर गरिदिनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्