७ आश्विन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप : आज भारत र अमेरिका भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा बुधबार राति पूर्वविजेता भारतले पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाको सामना गर्ने भएको छ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे देखी सुरु हुनेछ ।

अमेरिका र भारत दुबै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको सुपर–८ चरणमा पुग्नेछ । भारत र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् ।

यो समूहमा हालसम्म ६ खेल भइसकेको छ । समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले र तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएका थिए ।

यसैगरी चौथो खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गरेको थियो । पाँचौँ खेलमा भने भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । छैटौँ खेलमा पाकिस्तानले क्यानडालाई सात विकेटले हराएको थियो ।

दुई खेल खेलेको भारत चार अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको आयोजक अमेरिका दोस्रो स्थानमा छन् । तीन खेलबाट दुई अङ्क जोडेको पाकिस्तान तेस्रो र समान खेलबाट समान अङ्क हात पारेको क्यानडा चौथो स्थानमा छन् । दुई खेल खेलेको आयरल्यान्डले भने अङ्क बटुल्न सकेको छैन ।

टी–२० विश्वकपमा भारतको यो नवौँ सहभागिता हो । भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । भारत पहिलो संस्करणको विजेता पनि हो । त्यतिबेला भारतले फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो ।

अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यतिमात्र होइन, अमेरिकाले क्रिकेटको ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सहभागिता जनाएको यो पहिलो पटक हो । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा जारी गरिएको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा भारत पहिलो र अमेरिका १८औँ स्थानमा छन् । यसका बाबजुद अमेरिका र भारतबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

जारी विश्वकपमा अमेरिकाले अविश्वासिलो प्रदर्शन गर्दै आएको छ । अमेरिकाले टी–२० विश्वकपको पूर्वविजेता पाकिस्तानलाई पराजयको स्वाद चखाएर आफ्नो क्षमताको प्रदर्शन गरिसकेको छ । आयोजक अमेरिकाको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट देखिन्छ ।

भारत र अमेरिकाले हालसम्म आपसमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । त्यसैले यो विश्वकपमा बुधबार राति खेलिने खेल नै यी दुई राष्ट्रबिचको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । तर, अहिले अमेरिकी टोलीबाट खेलिरहेका अधिकांश खेलाडी भने भारतीय मूलकै छन् ।

जारी विश्वकपमा सहभागी अमेरिकी टोलीमा भारतीय मूलका आठजना खेलाडी छन् । अमेरिकी टोलीका कप्तान मोनांक पटेल पनि भारतीय मूलकै खेलाडी हुन् । यसका अतिरिक्त हरमित सिंह, जसप्रित सिंह, नितिश कुमार, नोसथुष केजिङ्गे, मिलिन्द कुमार, सौरभ नेत्रवाल्कर र निसर्ग पटेल भारतीय मूलका खेलाडी हुन् ।

अमेरिकी टोलीमा रहेका अली खान र सयान जहांगिर भने पाकिस्तानीमूलका खेलाडी हुन् । अमेरिकी टोलीमा रहेका कोरी एन्डर्सन भने न्युजिल्यान्डका चर्चित क्रिकेटर हुन् । उनले न्युजिल्यान्डबाट थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

वर्तमान अमेरिकी टोलीमा भारतीय मूलका खेलाडीको बाहुल्य रहेकाले पनि उनीहरुले भारतीय टोलीका खेलाडीको सबल र कमजोर पक्षको बारेमा राम्ररी विश्लेषण गरेका छन् । बुधबारको खेलमा भारतका लागि यो कमजोर कडी बन्न सक्छ ।

अमेरिकी टोलीका उपकप्तान एरोन जोन्सले पनि यसतर्फ सङ्केत गरेका छन् । उनले आफू भारतीय टोलीको सामना गर्न पूर्णरुपमा तयार रहेको बताएका छन् । ‘भारतीय टोलीको खेललाई हामीले नजिकबाट नियालेका छौँ । हामीले आफ्नो रणनीति पनि तयार पारिसकेका छौँ,’ उनी भन्छन् ।

यसका अतिरिक्त बुधबारको खेल खेलिने न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियमको पिचको बारेमा पनि अमेरिकी खेलाडी बढी जानकार छन् । त्यसैले उपकप्तान जोन्स भन्छन्, ‘यो पिचको बारेमा हामीलाई राम्रो जानकारी छ । यहाँको पिच निकै जटिल प्रकृतिको छ ।’

थत नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहज छैन । अहिलेसम्म यो स्टेडियममा खेलिएको खेलमा खासै ठुलो स्कोर बन्न सकेको छैन । जारी विश्वकपमा यो स्टेडियममा खेलिएको क्यानडा र आयरल्यान्डबिचको खेलमा क्यानडाले एक सय ३७ रन बनाएको थियो । यो स्टेडियममा जारी विश्वकपमा बनेको यो नै सबैभन्दा ठुलो स्कोर हो ।

क्रिकेटको तुलनामा यी दुई राष्ट्रबिच हकी खेलको इतिहास भने निकै पुरानो छ । आजभन्दा ९२ वर्षअघि सन् १९३२ को लस एन्जल्स ओलम्पिकमा भारत र अमेरिकाको हकी टोली आपसमा भिडेका थिए । त्यो खेलमा भारतले अमेरिकालाई २४–१ ले हराएको थियो ।

अमेरिका र भारतबिच खेल हुने दिन बुधबार न्यु योर्ककको मौसम सफा रहने बताइएको छ । बुधबार वर्षाको सम्भावना निकै कम रहेको समाचारमा जनाइएको छ । यसअघि यही स्टेडियममा खेलिएको भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण केही समय अवरुद्ध भएको थियो ।

अमेरिकाविरुद्धको खेलमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, अर्शदीप सिंहजस्ता प्रभावशाली खेलाडी भारतलाई जितसम्म पु¥याउने सारथि बन्न सक्छन् । विराट कोहलीले टी–२० विश्वकपमा हालसम्म २७ खेल खेल्दै एक हजारभन्दा बढी रन बनाइसकेका छन् उनले १४ वटा अर्धशतक पनि बनाएका छन् ।

कप्तान रोहित शर्माले पनि टी–२० विश्वकपमा एक हजारभन्दा बढी रन बनाइसकेका छन् । यस क्रममा उनले १० वटा अर्धशतक पनि प्रहार गरेका छन् । जसप्रित बुमराहले जारी विश्वकपमै पाँच विकेट लिइसकेका छन् । उनले पाकिस्तानविरुद्ध एक्लैले तीन विकेट लिएका थिए । अर्शदीप सिंहले पनि यो विश्वकपमा तीन विकेट लिइसकेका छन् ।

यसैगरी बुधबार हुने खेलमा अमेरिकाका एरोन जोन्स, सौरभ नेत्रवाल्कर, कप्तान मोर्नाक पटेल, कोरी एन्डर्सन, नवनित धालिवालजस्ता खेलाडी भारतका लागि घातक बन्न सक्छन् । क्यानडाविरुद्धको खेलमा एरोन जोन्सले टोलीका लागि महत्त्वपूर्ण योगदान गरेका थिए ।

त्यो खेलमा ठुलो लक्ष्य पछ्याएको अमेरिकालाई जित दिलाउन ९४ रनको योगदान गरेका थिए । उनले केवल ४० बलको सामना गरी चार छक्का र १० चौका पनि हिर्काएका थिए । सौरभ नेत्रवाल्करले पाकिस्तानविरुद्धको खेलमा ‘सुपर ओभर’ मा उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई जित दिलाएका थिए ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, संजु सामसन, अक्षर पटेल, युजवेन्द्र चहल र मोहम्मद सिराज रहेका छन् ।

यसैगरी अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, एन्ड्रियस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जसप्रित सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नास्थुस केनजिगे, सौरभ नेत्रवाल्कर, शेड्ली वान, स्टिवन टेलर र शयन जहांगिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्