३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

आफ्नो नामको प्रयोग चलचित्रमा गरेको भन्दै बलिउड निर्माता करण जोहर दर्ता गराए मुद्दा

३१ जेठ, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् ।

उनले मुद्धाको टुंगो नलागुञ्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका छन् ।

करणका वकिल पराग खण्डराका अनुसार यो मामलामा आज (बिहीबार) नै सुनुवाई हुँदैछ । ‘फिल्मको नाममा करण जोहरको नाम प्रयोग गरेर निर्माताले म पनि यो फिल्ममा जोडिएको छु भनेर ठूलो मात्रामा जनताको मनमा भ्रम पैदा गरिरहेका छन् । आम जनता तुरुन्तै यो फिल्ममा जोडिन्छन् भन्ने भ्रम निर्मातामा छ । मैले फिल्मको नाम थाहा पाएपछि यसमा एक्सन लिएको हुँ’, करणले भनेका छन् ।

करणले मुद्धामा फिल्मसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै निर्माताले गैर कानूनी रुपले आफ्नो नामको प्रयोग गरेको आरोप लगाएका छन् । यो फिल्म इण्डियाप्राइड एडभाइजरी प्रालिले बनाएको हो । फिल्ममा सञ्जय सिंह र बब्लू सिंहको निर्देशन छ ।

मुद्धामा फिल्मले करणको अधिकार, प्रचारको अधिकार र गोपनियताको अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ । ‘फिल्मको नाममा उनको नाम प्रयोग गर्नु करणको प्रतिष्ठान गिराउनका लागि गरिएको हो, जुन कानूनी रुपमा स्वीकार्य हुन्न । करण भारत र विश्वव्यापी रुपमा एक ठूला हस्ती हुन् । उनलाई करण जोहरको नामले चिनिन्छ । उनको नाम प्रयोग गर्नु भनेको करणको नाममा फाइदा उठाउनु हो’, मुद्धामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्