पोखरामा भेटेरिनरी अस्पताल सञ्चालन
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/06/fewa-lake-pokhara.jpg)
३१ जेठ, कास्की । पोखरामा पशुपक्षीको उपचारका लागि मोडेल (नमूना) भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–१२ मा नवनिर्मित अस्पतालको सुविधासम्पन्न भवनबाट बुधबारदेखि सेवा दिन सुरु गरिएको हो ।
गण्डकी प्रदेश सरकारको लगानीमा कास्की तथा यस आसपासका जिल्लाबाट पशु उपचार तथा किसानलाई सहज भेटेरिनरी सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरिएको थियो । कास्कीसहित तनहुँमा समेत अस्पताल निर्माण भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले नवनिर्मित अस्पताल भवनबाट कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरी सेवा प्रवाह सुरु गरिएको जानकारी दिए ।
उहाँका अनुसार शिविरमा ६३ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा किरण पाण्डे, भेटेरिनरी अस्पतालका चिकित्सक डा अनन्त कोइराला, डा आशिष गौतम, पोखरा महानगर पशु सेवा शाखाका प्रमुख डा आरोश विक, डा पवन पाण्डे, डा प्रियङ्का कोइरालालगायतको टोलीले शिविरमा उपचार सेवा दिएको थियो ।
“सुविधासम्पन्न पशुपक्षी अस्पतालबाट सेवा प्रवाह गर्ने हामीहरूको लामो समयदेखिको चाहना थियो, अहिले आएर पूरा भएको छ । कास्कीसहित यस क्षेत्रका पशुपालक किसान लाभान्वित हुनुहुनेछ, उनीहरूले सहज सेवा पाउनेछन्”,कार्यालय प्रमुख पाण्डेले भने।
प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको अस्पताल भवन निर्माण गरिएको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल सो भवन निर्माणका लागि सिद्धबाबा-फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट अन्तरङ्ग, बहिरङ्गसहितका सेवा प्रदान गरिने जानकारी दिए। अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायतका सुविधा रहने उनले बताए । यसैगरी पशुपक्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुट्टै कक्ष राखिने छ ।
डा कोइरालाले भने, “पुरानो र साँघुरो भवनबाट पशुपक्षी उपचार सेवा दिँदै आएकामा अबदेखि सुविधासम्पन्न अस्पतालबाट छिटो र सहज सेवा प्रदान गर्नेछौँ । सुरुमा सबै उपकरण र जनशक्ति पूरा भइसकेको छैन । आगामी दिनमा अस्पताललाई गण्डकी प्रदेशको पशुपक्षी उपचारको रेफरल अस्पतालका रुपमा विकास गर्नेछौँ ।”
प्रतिक्रिया दिनुहोस्